कोरोनाका कारण चिनियाँ राष्ट्रपति सीको जापान भ्रमण स्थगित

काठमाडौं। कोभिड-१९को महामारी फैलिएपछि यही अप्रिलमा हुने भनिएको चिनियाँ राष्ट्रपति सी चिनफिङको जापान भ्रमण स्थगित भएको छ। भ्रमण स्थगित भएको जापानको सरकारले आज जानकारी गराएको छ।

सन् २००८ मा हु जिन्ताओले भ्रमण गरेयता जापान भ्रमण गरेपछि बल्ल चिनियाँ राष्ट्राध्यक्षको जापान भ्रमण हुन लागेको थियो।

सीले जापानका सम्राट नारूहितो र प्रधानमन्त्री सिन्जो अबेसँग भेटवार्ता गर्ने योजना थियो। त्यस्तै सीले भोज आयोजना गर्ने कार्यक्रम पनि थियो।

दुवै देशका नेताहरूले सीको भ्रमणले दुई देशबीच खासगरी दक्षिण चिनियाँ सागरमा भएको तनाव मत्थर पार्न सघाउ पुग्ने आशा राखेका थिए।

यसैबीच उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले दक्षिण कोरियाले छिट्टै नै कोरोना संक्रमणमाथि विजय प्राप्त गर्ने विश्वास गरेका छन्। २१ फागुनमा किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जाई-इनलाई पत्र पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ। किमले राष्ट्रपति मुनको स्वास्थ्य अवस्थाबारे पनि चासो व्यक्त गरेका छन्। साथै उनले कोरियाली प्रायःद्वीपको स्थितिबारे चर्चा पनि गरेका छन्।

दक्षिण कोरिया चीनपछि सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएको देश हो। आजसम्म त्यहाँ संक्रमितको संख्या पाँच हजार ७६६ पुगेको छ।

उत्तर कोरियाले भने सयौं विदेशीलाई क्वारेन्टाइनमा राखेको छ।

उता संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया प्रान्तले कोरोना संक्रमणका कारण संकटकाल घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्