अतिक्रमित भूमि फिर्ता गरेर कालापानीबाट भारतीय सैनिक हटाउनेबारे संसदमा संकल्प प्रस्ताव पेस हुँदै
<p>काठमाडौं। आजको संसद बैठकमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गरेर कालापानी क्षेत्रमा रहेका विदेशी सैनिक हटाउनेबारे संकल्प प्रस्ताव पेस हुँदैछ।</p>
<p>आज ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले भारतले सीमा मिचेका ठाउँहरूलाई नेपालको भूभाग कायम गरी कालापानीमा रहेका विदेशी सेना हटाउन आवश्यक भएको भन्ने विषयको संकल्प प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ।</p>
<p>भारत सरकारले दार्चुला जिल्लाको कटियाङदी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकोले कुटनीतिक पहलका लागि संसदमा संकल्प प्रस्ताव पेस गर्न लागिएको हो।</p>
<p>संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको सम्भावित कार्यसूची अनुसार सो संकल्प प्रस्तावको समर्थनमा नेकपाकी सांसद रामकुमारी झाक्रीले समर्थन गर्ने छिन्।</p>
प्रतिक्रिया दिनुहोस्