प्रिमियर लिगमा ‘फेयर प्ले ह्याण्डसेक’ नगर्न निर्देशन

काठमाडौं। इङ्लिस प्रिमियर लिगले कोरोना भाइरस संक्रमणका कारण अर्को सूचना नआउँदासम्म खेलअघि दुई टीमका खेलाडी र अफिसियलबीच हात नमिलाउन (फेयर प्ले ह्याण्डसेक) निर्देशन दिएको छ।

बेलायत सरकारले प्रिमियर लिगलाई आकस्मिक रूपमा कोरोना भाइरस संक्रमणविरुद्ध योजना बनाउन भनेको भोलीपल्ट यस्तो निर्णय आएको हो।

तथापी खेलअघि पहिलेजस्तै लाइनअप भने हुनेछ। तर, घरेलु टीमले विपक्षी खेलाडीसँग हात नमिलाई पहिलो लाइन छाड्नेछ।

प्रिमियर लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘यसै साताबाट अर्को सूचना नआउँदासम्म प्रिमियर लिग फेयर प्लेअन्तगर्त दुई टीमका खेलाडी र अफिसियलबीच हात नमिलाउनु होला। कोरोना भाइरस नाक र मुखबाट हातमा सर्न सक्छ र हात मिलाउँदा अर्को व्यक्तिमा सर्न सक्छ।’’

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले अब एनफिल्डमा मस्कट नराख्ने घोषणा गरिसकेको छ भने आफ्नो स्टाफलाई उच्च जोखिम भएका देशमा भ्रमण नगर्न भनिसकेको छ।

क्लबले एनफल्डको प्रत्येक ‘वासरूम’ मा सेनिटाइजर वा एन्टीब्याक्टोरियल ह्याण्डवास राखिएको जनाएको छ।

त्यसका साथै क्लबले एनफिल्डमा सुचनामुलक पोष्टर पनि टाँसिएको जनाएको छ।

साउथह्याम्पटनले खेलाडीलाई समर्थकसँग अटोग्राफ दिन र सेल्फी खिच्न मनाही गरेको छ। वेष्ट ह्यामका प्रशिक्षक डेबिड मोयस र न्युक्यासलका प्रशिक्षक स्टिभ ब्रुसले पनि हात मिलाउन रोकेका छन्।

अहिलेसम्म विश्वभर ८७ देशमा ९० हजारभन्दा धेरैमा कोराना भाइरस संक्रमण देखा परेको छ।

प्रतिक्रिया दिनुहोस्