प्रधानमन्त्रीले टेलिफोन गरेर सोधे- ‘काम के कस्तो भइरहेको छ?’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणपछि आफ्नो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको र आफू छिटै काममा फर्कन सक्ने बताएका छन्।

प्रधानमन्त्री ओली अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसीयू)मा छन्।

२१ फागुनमा उनको मिर्गौला प्रत्यारोपण गरिएको हो। प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो।

प्रधानमन्त्री ओलीले आज बिहान आफ्ना प्रमुख सल्लाहकार विष्णु रिमालसँग कुरा गर्दै आफू छिटै काममा फर्कन सक्ने बताएका हुन्।

“प्रधानमन्त्रीज्यूले मसँग कुरा गर्न चाहनु भएको रहेछ, त्यहीअनुसार आज बिहान उहाँसँग टेलिफोनमा छोटो कुराकानी भयो”, रिमालले देखापढीसँग भने, “साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ, अब छिटै काममा फर्कन सक्छु होला भन्नुभो।”

त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारको कामकारवाही के कस्तो भइरहेको छ भनेर सोधेको रिमालले बताए।

“मैले यसबारे तपाईं चिन्ता नलिनुस्, उपप्रधानमन्त्रीज्यू, मन्त्रीहरु र अख्तियारप्राप्त सबै संयन्त्रले आफ्नो काम गरिरहेका छन् भनेर आश्वस्त पारें”, उनले भने।

प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणपछि चिकित्सकबाहेक अरू कसैले भेटेका छैनन्। संक्रमणको उच्च जोखिम हुने भएकाले अहिलेसम्म पत्नी राधिका शाक्यलेसमेत प्रधानमन्त्रीलाई नभेटेको प्रमुख सल्लाहकार रिमालले बताए।

“आइसीयूमा रहेका ड्युटीका डाक्टरहरुले मात्र उहाँलाई भेट्नु हुन्छ, त्यसबाहेक अरु को को डाक्टरले भेट्ने भनेर निजी चिकित्सक दिव्या सिंह शाहले निर्धारण गर्नुहुन्छ”, उनले भने।

प्रधानमन्त्री ओलीले टेलिफोनमा कुरा गर्दा वरपर कोही भए ह्याण्ड्स–फ्री गरेरै आफ्नो आवाज सुनाइदिनसमेत भनेका थिए।

“मेरो छेउछाउमा डाक्टरहरु मात्र हुनुहुन्थ्यो, त्यहीकारण ह्यान्ड्स-फ्री गर्नु परेन”, रिमालले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्