कञ्चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेस्क राखियाे, क्वारेन्टाइन पनि राख्ने तयारी

काठमाडौं। कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि नेपाल-भारत सिमाना कञ्‍चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेस्क राखिएको छ।

सो नाका हुँदै कञ्‍चनपुरबाट भारतको नयाँ दिल्लीसम्म दैनिक पाँचदेखि ६ वटा सिधा बससेवा संचालनमा छ।

पछिल्लो समयमा भारतमा पनि कोभिड-१९ का बिरामी देखिएपछि नाकामा सतर्कता अपनाउँदै पूर्व तयारी थालिएको कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले देखापढीलाई बताए।

भीमदत्तनगरपालिका कार्यालयसँगको समन्वयमा त्यहाँ डेस्क स्थापना गरिएको हो।

“चौबिसै घण्टा स्वास्थ्यकर्मीलाई अलर्ट राखेका छौं”, सीडीओ खतिवडाले भने, “प्रारम्भिक स्वास्थ्य परीक्षणको क्रममा कोही शंकास्पद भेटिए महाकाली अस्पतालमा आइसोलेटेड वार्डको तयारी छ।”

उनका अनुसार २३ फागुनमा जिल्ला विपद् पूर्वतयारी समितिको बैठक बसेर कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि सचेतना गतिविधि गर्ने, त्रास तथा अफबाह फैलाउने र बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्ने निर्णय गरिएको छ।

दैनिक भारत आवतजावत गर्नेको संख्या धेरै हुने भएकाले गड्डाचौकी नाका नजिकै कुनै घरलाई क्‍वारेन्टाइन स्थल बनाउन गृहकार्य थालिएको र प्रदेश सरकारसँग बजेट माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्