राप्रपा र राप्रपा संयुक्तबीच एकीकरण, २८ फागुनमा घोषणा गरिने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको सहमति भएको छ।

एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले २४ फागुन राति हस्ताक्षर गरेका छन्।

पार्टी एकीकरणको घोषणासभा २८ फागुनमा तय गरिएको छ।

सहमतिअनुसार एकीकृत पार्टीमा राणा, लोहनी र थापा तीनजना अध्यक्ष रहनेछन्। नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ।

केन्द्रीय समितिमा मनोनयन, सचिवालय निर्माण, जिम्मेवारी बाडफाँटलगायत दैनिक कार्यसञ्चालन तीन अध्यक्षको सहमतिमा गरिनेछ ।

एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दू राष्ट्र अंगीकार गर्ने निर्णय गरेको छ।

त्यसैगरी शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्ने बताइएको छ।

विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीन जना अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गर्ने सहमति छ।

हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ।

छ महीनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ। सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ।

सहमतिअनुसार हाल कायम रहेका दुवै दलका निर्वाचन चिह्न छ महीनाका लागि स्थगन गरिएको छ।

झण्डाको हकमा अहिलेको राप्रपाको झण्डा नै प्रयोग गरिनेछ। रासस

प्रतिक्रिया दिनुहोस्