लिग स्थगित नगरिएकोमा इटालीका खेलकुदमन्त्रीको आपत्ति

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण फुटबल गतिविधी स्थगन गर्न गरेको आह्वानलाई सिरी ‘ए’ लिगले गरेको बेवास्तालाई इटालीका खेलकुद मन्त्रीले गैरजिम्मेवार भएको बताएका छन्।

मन्त्री भिकान्जो स्पाडाफोराले यसअघि इटालीमा एक करोड ६० हजार जनालाई क्वारेनटाइनमा राखिएको अवस्थामा फुटबलको कुनै अर्थ नहुने बताएका थिए।

तर, गएराति लिगका महत्वपूर्ण खेलहरू खाली रंगशालामा खेलाइएको थियो।

‘‘यो बलिदान र नियमलाई विश्व फुटबलले प्रतिरक्षा गरेको महसुश गर्नेछ,’’ स्पाडाफोराले भने, ‘‘सिरी ए लिग र अध्यक्ष पाउलो डाल पिनोले गैरजिम्मेवार ढंगले आज खेल खेलाए। हामी इटालियन जनतालाई घरमै बस्न आह्वान गर्छौं।’’

गत साता इटाली सरकारले ३ अप्रिलसम्म सबै खेलकुद गतिविधी खाली रंगशालामा गर्न आह्वान गरेको थियो।

तर, तीब्र गतिमा बढ्दो कोरोना संक्रमणका कारण मन्त्री स्पाडाफोराले तत्काल लागु हुनेगरी लिग स्थगन गर्न भनेका थिए।

पार्मा र स्पालबीचको खेल ७५ मिनेट ढिला गरी शुरू भएको थियो।

स्पाडाफोराले खेल रोक्न आह्वान गर्दा पार्मा र स्पालका खेलाडी मैदान निस्कन तयार भएर बसेका थिए।

मन्त्रीको आह्वानका कारण खेलाउने कि नखेलाउने अन्योलमा परेका रेफ्रीले खेलाडीलाई ‘ड्रेसिङ रुम’ मा फिर्ता बोलाएका थिए।

सिरी ‘ए’ मा अन्य चार खेल बन्द रंगशालामा खेलाइएको थियो।

इटालियन फुटबल संघको बैठक भोलि बस्दैछ।

अधिकारीका अनुसार आइतबार मृत्यु हुनेको संख्या १३३ ले बढेर ३६६ पुगेको छ।

सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमण हुनेको संख्या ५ हजार ८८३ बाट बढेर ७ हजार ३७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्