विश्व स्वास्थ्य संगठनका निर्देशक भन्छन्- ‘कोभिड-१९ विश्वव्यापी महामारी बन्ने खतरा छ’
काठमाडौं। विश्व स्वास्थ्य संगठनका प्रमुख निर्देशक टेड्रोस अधानोम गेब्रीयससले कोभिड-१९ विश्वव्यापी महामारी बन्ने त्रास यथावत रहेको बताएका छन्। जेनेभामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गेब्रीयससले कोरोना भाइरसको संक्रमण विभिन्न देशमा फैलिँदै गएकाले विश्वव्यापी महामारी (पान्डेमिक) को खतरा रहेको उल्लेख गरेका हुन् । "तर यो संसारमै नियन्त्रणमा लिइएको पहिलो विश्वव्यापी महामारी हुनेछ", उनले विश्वास व्यक्त गरेका छन्।

"सबैभन्दा आधारभुत धारणा के हो भने, हामी भाइरसको दयामा छैनौं", खतरा औंल्याउँदै उनले उल्लेख गरेका छन्।

उनले सबै मिलेर यो महामारी नियन्त्रण गर्न सक्नेमा विश्वास व्यक्त गरेका छन्। "हामीले शुरूवातमै लिने सही निर्णयले भाइरसको संक्रमण घटाउन सक्छ र संक्रमितहरू शिघ्र स्वस्थ हुनेछन्", उनले भने।

उनले सबै देशले यो महामारी रोक्न र यसबाट मुक्ति पाउन विस्तृत रणनीति बनाउनुपर्नेमा जोड दिए ।

कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोग ‘कोभिड-१९’का रोगीको संख्या संसारभर एक लाखभन्दा बढी पुगिसकेको छ। १०२ देशमा फैलिइसकेको यो रोगबाट निधन हुनेको संख्या ३४ सय भन्दा बढी छ। यद्यपि विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारी (पान्डेमिक) घोषणा गरिसकेको छैन।

के हो विश्वव्यापी महामारी?

रोगको फैलावटको घनत्वको आधारमा दुईवटा शब्दमध्ये एक प्रयोग गर्ने गरिन्छ- महामारी (इपिडेमिक) र विश्वव्यापी महामारी (पान्डेमिक)। विश्व स्वास्थ्य संगठनले ‘एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्न सक्ने जीवाणुका कारण संसारभरी महामारी फैलिएको अवस्था’लाई विश्वव्यापी महामारी भनी परिभाषित गरेको छ।

महामारी निश्चित क्षेत्रमा सिमित हुन्छ भने विश्वव्यापी महामारी संसारैभरी फैलिन्छ ।

विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार विश्वव्यापी महामारी भन्न सकिने अवस्था भए पनि उसले अझै घोषणा गरिसकेको छैन।

विश्वव्यापी महामारी घोषणा गरे के हुन्छ?

सन् २००९ मा फैलिएको एच१एन१ इन्फ्लुएन्जाको संक्रमणलाई विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको थियो। उक्त घोषणाले अनावश्यक त्रास फैलाएको भनेर केही देशले आलोचना गरेका थिए। यसले केही देशहरूलाई भ्याक्सिनमा अनावश्यक खर्च गराएको भन्ने समेत आरोप लगाइएको थियो।

तर सन् २००९ यता परिस्थितीमा धेरै परिवर्तन आएको छ। त्यसो त उसँग कुन महामारीलाई विश्वव्यापी महामारी घोषणा गर्ने पद्धति पनि छैन। विश्व स्वास्थ्य संगठनसँग विश्वव्यापी महामारी घोषणा गर्ने आधिरकारिक पद्धति नभए पनि यो शब्दावली प्रयोग गर्नासाथ गम्भीर परिणाम आउनसक्छन्। यसले सबैभन्दा पहिला सरकारहरूलाई दबाब दिन्छ।

विश्वव्यापी महामारीको समयमा हरेक देशका सरकारले आफ्नो स्वास्थ्य प्रणाली, सुविधा र स्वास्थ्यकर्मीलाई पूर्ण परिचालन गर्नुपर्छ।

यसको असर विश्व अर्थतन्त्रमा पनि पर्नेछ। विश्व बैंकका अनुसार विश्वव्यापी महामारीका कारण पाँच खर्ब ७० अर्ब अमेरिकी डलर खर्च हुनसक्छ। -विश्व स्वास्थ्य संगठनको वेबसाइट र ‘द गार्जियन’को सहयोगमा।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्