ब्याटिङमा मध्यक्रम असफल हुँदा नेपाल आयरल्याण्डसँग पराजित

काठमाडौं। ओमनमा जारी टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत् आजको खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ। १४६ रनको लक्ष्य पाएको नेपाल १९.५ ओभरमा १३२ रनमा अलआउट भयो।

शृंखलामा तेस्रो खेल खेलिरहेको नेपालले पहिलो हार ब्यहोरेको हो। टेस्ट मान्यताप्राप्त बलियो राष्ट्र आयरल्याण्डसँग नेपालको हारको प्रमुख कारण बन्यो– मध्यक्रमको ब्याटिङ धर्मराउनु।

टस हारेपछि आयरल्याण्डबाट १४६ रनको लक्ष्य पाएको नेपालले राम्रो शुरुआत गरेको थियो। चार ओभरमा ३५ रन जोडेको अबस्थामा नेपालले पहिलो विकेटका रुपमा १४ बलमा २५ रनको आक्रामक पारी खेलेका कप्तान पारस खड्कालाई गुमायो।

पारसको विकेट गुमेपछि इशान पाण्डे र आरिफ शेखले नेपालको पारी सम्हाले। नेपालको स्कोर ७३ रन पुग्दा ३० बलमा २२ रन बनाएका इशान पाण्डेलाई नेपालले दोस्रो विकेटका रुपमा गुमायो।

त्यसपछि १९ रन बनाएका दीपेन्द्रसिंह ऐरी र २६ रन बनाएका आरिफ शेख पनि क्रिजमा टिक्न नसकेपछि नेपाली ब्याटिङ पुरै धर्मरायो। हङकङबिरुद्धको खेलमा म्याच विनिङ प्रदर्शन गरेका विनोद भण्डारी रनआउट भए।

१५ ओभरमा तीन विकेटको क्षतिमा १०० रन जोडिसकेको नेपाली ब्याटिङ त्यसपछि कुनै पनि बेला सम्हालिन सकेन।

पुछारमा ब्याटिङ गर्न आएका करन केसीले ९ बलमा १६ रन बनाएर जितको झिनो आशा जगाए पनि नेपालको हार टार्न सकेनन्।

अन्तिम ओभरको पहिलो र दोस्रो बलमा छक्का र चौका प्रहार गरेका करण तेस्रो बलमा क्याचआउट हुनपुगे।

आयरल्याण्डका जर्ज डकरेलले सर्वाधिक ३ विकेट लिए भने मार्क अडाइर र गारेथ डेलानीले दुइ दुइ विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १४५ रन जोडेको थियो। आयरल्याण्डका पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाए।

आयरल्याण्डको इनिङ्सको दोस्रो ओभरमै स्कोरबोर्डमा ७ रन मात्र जोडिएको अबस्थामा सन्दीप लामिछानेले केभिन ओब्राइनलाई आउट गरे पनि त्यसपछि आयरल्याण्ड सम्हालिएर खेल्दै विशाल योगफलतर्फ अग्रसर भएको थियो।

तर, १२ औं ओभरमा ललितनारायण राजवंशीले २८ बलमा आक्रामक ३८ रन बनाएका एन्डी बल्बिर्नाइलाई आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो। नेपालले लगत्तै दुइवटा रनआउटको अवसर गुम्‍न दिएन।

बलिङ परिवर्तनपछि आएका अविनाश बोहरा पनि प्रभावी बने। लगत्तै करन केसीले ४७ बलमा ५९ रन बनाएका पाउल स्टर्लिङको विकेट लिएपछि नेपाल खेलमा हावी भयो।

विशाल योगफलतर्फ अग्रसर भएको आयरल्याण्डलाई मध्यम स्कोरमा समेट्न सन्दीप लामिछाने र अविनाश बोहराले दुइ दुइ विकेट लिए भने करन र ललितको नाममा एक एक विकेट रह्यो।

शृंखलामा नेपालले यसअघिका दुवै खेल जितेको थियो। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्समाथि जित हात पारेको थियो।

प्रतिक्रिया दिनुहोस्