केरूङमा रोकिएको चार अर्ब ७० करोडको स्याउ र लसुन ल्याउन सरकारले थाल्यो पहल

काठमाडौं। नेपाल–चीन व्यापारिक नाकामा रोकिएको स्याउ र लसुनको नेपाल ल्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल शुरू गरेको छ। विगत दुई महिनादेखि केरुङ नाकामा रोकिएको ४ अर्ब ७० करोड रुपैयाँ बराबरको झण्डै ४ सय कन्टेनर स्याउ र लसुन ल्याउन पहल थालिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले बताए।

वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नभन्दै चीनले नेपाल र चीनको व्यापारिक नाका बन्द गरेको थियो। नाका बन्द भएसँगै चीनबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडासँगै फलफुल र लसुन बोकेका कन्टेनर चिनियाँ भू–भागमै रोकिएका थिए।

यसअघि, तातोपानी नाकातर्फ चीनको खासामा रहेका कन्टेनर २४ दिनअघि केरुङ ल्याइएको थियो। खासाका प्रहरीले तत्काल कन्टेनर हटाउन नेपाली आयातकर्तालाई निर्देशन दिएपछि व्यवसायीले केरूङ लगेर राखेका थिए।

“यही साताभित्र नेपाल ल्याउन नपाए सबै सामान कुहिन्छ” नेपाल फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले भने, “चार अर्ब ७० करोड रुपैयाँ बराबरको सामान कुहिए हामी सडकमा पुग्छौं।”

तर, केरूङ लगेको लामो समयसम्म पनि चीन र नेपाल सरकारले उक्त सामान नेपाल भित्र्याउन आवश्यक पहल नगर्दा स्याउ र लसुन कुहिन थालेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन्।

“यही साताभित्र नेपाल ल्याउन नपाए सबै सामान कुहिन्छ” नेपाल फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेले भने, “चार अर्ब ७० करोड रुपैयाँ बराबरको सामान कुहिए हामी सडकमा पुग्छौं।”

व्यवसायीहरूले बैंकसँग ऋण लिएर सामान आयात गर्ने र ती सामानको विक्री भएपछि बैंकको ऋण भुक्तानी गर्ने गरेकाले समयमा सामान विक्री गर्न नपाए व्यवसायीहरू डुब्ने उनीहरूले बताएका छन्।

सिमानामा रोकिएको मध्ये ७० करोड रुपैयाँ बराबरको ५० कन्टेनर लसुन रहेको जानकारी दिए। त्यसबाहेकका कन्टेनरमा भने स्याउ रहेका छन्। ती सामान नेपाल ल्याउन राज्यले पहल नगरे व्यवसायीहरू घर खेत बेच्नुपर्ने अवस्थामा पुग्ने पाण्डेले बताए।

वाणिज्य तथा आपूर्ति सचिव अर्यालले चिनियाँ नाकाबाट सामान नेपाल भित्र्याउनको लागि छलफल गर्न चिनियाँ दुतावासका अधिकारीहरूलाई मन्त्रालयमै बोलाएको जानकारी दिए।

“चीनमा विस्तारै कोरोनाको संक्रमण नियन्त्रणतर्फ गएको र चिनियाँहरु नै नाका खोल्ने पक्षमा छन्”, अर्यालले भने, “उनीहरु नै नाका खोल्ने पक्षमा रहेकाले सिमानामा रोकिएका नेपाली व्यवसायीहरुको सामान ल्याउने पहल शुरू गरेका छौं।”

प्रतिक्रिया दिनुहोस्