कोरोना प्रभाव: प्रतिनिधि सभा बैठक स्थगन गर्न सांसदहरूको माग

काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि प्रतिनिधि सभा बैठक केही दिनलाई स्थगन गर्न सांसदहरूले माग गरेका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्व नै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए।

आजको बैठकमा शून्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोभिड-१९ लाई विश्वव्यापी महामारी घोषणा घोषणा गरिसकेको अवस्थामा अहिले पनि संसद् चलाई राख्‍न नहुने बताए।

अर्का सांसद भरत कुमार शाहले पनि कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगनको लागि सभामुखको ध्यानाकर्षण गराएका छन्।

विश्व स्वाथ्य संगठनले कोराना संक्रमणको उच्च जोखिममा नेपाललाई राखेको स्मरण गर्दै सांसद रामबहादुर विष्टले बजारमा औषधि, मास्क लगायत, दैनिक उपभोग्य सामानको कृत्रिम अभाव नियन्त्रणका लागि काम थाल्न अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस्