ट्रम्पको घोषणाले विश्व अर्थतन्त्र चौपट हुने चिन्ता
काठमाडौं। अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले युरोपेली देशबाट अमेरिकामा हुने सबै उडानमा रोक लगाएपछि त्यसको असर विश्व अर्थतन्त्रमा पर्ने चिन्ता शुरू भएको छ।

ट्रम्पले २८ फागुन साँझ टेलिभिजन सम्बोधनमार्फत् बेलायतबाहेक युरोपका २६ देशबाट अमेरिकामा हुने उडानमा रोक लगाएको घोषणा गरेका थिए। ट्रम्पको यो घोषणाले विश्वभरको अर्थतन्त्र चौपट पार्ने भन्दै उनको विरोध शुरू भएको छ।

ट्रम्पले युरोपका एअरलाइन्सलाई अमेरिका प्रवेशमा एक महीनाको बन्देज लगाएको २४ घन्टा नवित्दै त्यसको असर विश्वव्यापी रूपमा देखिन थालेको छ।

ट्रम्प प्रशासनले जारी गरेको निर्देशनको पहिलो असर अन्तर्राष्ट्रिय पूँजी बजारमा परेको छ भने युरोपेली र अमेरिकी व्यवसायीहरूले नै ट्रम्पले चालेको कदमका कारण विश्व आर्थिक मन्दी झन तीब्रतर बन्ने चिन्ता व्यक्त गरेका छन्।

यो घोषणासँगै अमेरिकामा एक महीनासम्म युरोपका कुनै पनि देशबाट पर्यटक जान पाउने छैनन् भने नियमित उडान बन्द हुँदा अमेरिकीहरू पनि युरोपका देशमा जान सक्दैनन्।

ट्रम्पले यो व्यवस्था लागू गर्नासाथ त्यसको पहिलो असर युरोपियन एअरलाइन्सको शेयर बजारमा परेको छ। न्यूयोर्क टाइम्सले उल्लेख गरेअनुसार, युरोपियन वायुसेवा कम्पनीहरूको शेयर २० प्रतिशतले घटेको छ।

एअर फ्रान्स, लुप्थान्सा, आइएजी लगायतका एअरलाइन्सको स्वामित्व भएको व्रिटिश एअरवेज र इब्रीयाको शेयर १३ प्रतिशतले घटिसकेको छ। त्यसैगरी, ‘लो–कस्ट’ एअरलाइन्सको हब मानिने रोमको क्याम्पिनो एअरपोर्ट गत आज पूर्णरूपमा बन्द नै भयो। धेरैजसो अन्तर्राष्ट्रिय हुने रोमको फूयूमिसिनो विमानस्थल पनि प्रभावित भएको छ।

ट्रम्प घोषणाको प्रभाव यूरोपको विमानसेवामा मात्रै होइन, एशियाका एअरलाइन्स कम्पनीमा पनि उत्तिकै परेको छ

सन् २०१८ मा मात्रै बेलायतबाहेक यूरोपियन देशबाट अमेरिका जाने पर्यटकको संख्या एक करोड १० लाख रहेको थियो। विश्वभरबाट अमेरिका भ्रमणमा जाने कुल पर्यटक संख्याको २५ प्रतिशतभन्दा बढी यूरोपियन देशबाटै जाने गरेका छन्।

अमेरिका र युरोपियन देशबीचमा पर्यटन क्षेत्रको व्यवसाय मात्रै करीब १३० अर्ब डलर बराबर रहेको अमेरिकाको राष्ट्रिय पर्यटन व्यूरोको तथ्याङ्क छ।

एअर फ्रान्स केएलएमले उत्तर अमेरिकी क्षेत्रबाट मात्रै गत वर्ष चार अर्ब डलर बराबरको व्यवसाय गरेको थियो, जुन उसको कुल व्यापारको करीब १३ प्रतिशत हो। त्यसैगरी, लुप्थान्सा एअरलाइन्सले उक्त क्षेत्रबाट गत वर्षको नौ महीनामा मात्रै ३.७ अर्ब अमेरिकी डलर बराबरको व्यवसाय गरेको थियो। यो उसको कुल व्यवसायको करीब १५ प्रतिशत हो।

त्यसैगरी, युनाइटेड एअरलाइन्स र डेल्टा एअरले गत वर्ष ७.४ अर्ब डलर बराबरको व्यवसाय गरेका थिए। ट्रम्पले युरोपियन देशबाट आउने विमान सेवा एक महीनाको लागि बन्द गरेपछि युनाइटेड एअरलाइन्सको १७ प्रतिशत र डेल्टा एअरको १५ प्रतिशत आम्दानी प्रभावित हुने आकलन गरिएको छ।

यूरोपियन एअर होस्टेसहरूको संस्थाले ट्रम्पको घोषणालाई ‘गैरजिम्मेवार’ भनेको छ। एअर होस्टेसको संघका अध्यक्ष सारा नेल्सनले ट्रम्पले राजनीतिक कारणले युरोपेली देशका वायुसेवाको उडान रोकेको आरोप लगाएका छन्।

ट्रम्पको घोषणाको कारण अमेरिकामा कोरोनाको संक्रमण रोकिए पनि त्यसले विश्वव्यापी रूपमा पार्ने असर भने भयावह हुने आकलन आउन थालेका छन्।

अन्तर्राष्ट्रिय एअर ट्रान्सपोर्ट एशोसिएशन (आएटा)ले एक साताअघि प्रकाशन गरेको तथ्याङ्कअनुसार सन् २०२० मा विश्वभरका वायुसेवा कम्पनीहरूले ११३ अर्ब अमेरिकी डलर अर्थात करीब १३१ खर्ब रूपैयाँ नोक्सानी ब्यहोर्ने अनुमान गरेको थियो।

वायुसेवा कम्पनीहरूको व्यवसाय प्रभावित हुँदा त्यसको असर विश्वभरको अर्थतन्त्रमा पर्छ। ‘चेन इफेक्ट’का कारण होटल, रेष्टुरेन्ट, कार्गो, ट्याक्सी सर्भिस आदिको व्यवसाय पनि सुस्ताउँछ।

यूरोपियन देशहरूमा एअरलाइन्स उद्योगले मात्र एक करोड २५ लाख रोजगारी सिर्जना गरेको तथ्याङ्क छ। यो क्षेत्र प्रभावित हुँदा अर्थतन्त्रमा ७५८ अर्ब अमेरिकी डलर बराबरको नोक्सान हुने तथ्याङ्कसहितको रिपोर्ट यूरोपियन एअरपोर्ट स्टडीले हालै प्रकाशन गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्