आर्सनलका प्रशिक्षक आर्टेटालाई कोरोना भाइरस संक्रमण, आर्सनलको पुरै टीम क्वारेन्टाइनमा

काठमाडौं(एजेन्सी)। इंग्लिस प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई कोरोना भाइरसको संक्रमण भएको छ।

क्लबले आज राति यसको पुष्टि गरेको हो।

प्रिमियर लिगले बेलायतमा कोरोना भाइरस संक्रमणका कारण प्रिमियर लिगका खेलहरुमा कुनै असर नपर्ने धारणा सार्वजनिक गरेको केही घण्टामै आर्टेटामाथि संक्रमण पुष्टि भएको हो।

आर्सनलले विज्ञप्तिमार्फत् भनेको छ, हामीले लण्डन कोल्नी तालीम केन्द्र लक डाउन गरेका छौं र हाम्रा प्रशिक्षक आर्टेटालाई कोभिड १९ पोजिटिभ देखिएको छ।

आर्सनलले यसबीचमा आर्टेटासँग सम्पर्कमा आएका क्लबका अन्य पदाधिकारी, कर्मचारी र खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिने जनाएको छ। तालिम केन्द्र बन्द गरिएको छ।

आर्टेटाले आफूले कमजोर महशुस गरेपछि स्वास्थ्य परीक्षण गरेको र आफू चाँडै आर्सनल प्रशिक्षकका रुपमा फर्कने बताएको गोल डटकमले लेखेको छ।

त्यसैगरी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीलाई पनि कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्