नेपालसँगका बन्द व्यापारिक नाका खोल्न चीन तयार, नेपाली अधिकारीहरू छलफलमा

काठमाडौं। झण्डै दुई महीनादेखि बन्द रहेका नेपाल–चीनबीचका व्यापारिक नाका खोल्न चीन तयार भएको छ।

चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट शुरू भएको कोरोना भाइरसले महामारीको रूप लिएपछि अनिश्चितकालका लागि बन्द गरिएका नाका खोल्न चीन तयार भएको हो। चीनले दुई महीनाअघि सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवाको करूङ नाका बन्द गरेको थियो।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनथालेकाले नेपालले चाहेमा नाका खोल्न सकिने जानकारी चिनियाँ अधिकारीहरुले दिएका हुन्।

नेपालस्थित चिनियाँ दूतावासले बन्द रहेका नाकाहरू नेपालले चाहेमा पुनः सञ्चालन गर्न तयार रहेको जानकारी दिएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले त्यसबारे गृहकार्य शुरु गरेको छ।

“चिनियाँ पक्षले नाका खोल्न तयार रहेको बताएपछि हामी छलफल गर्दैछौं”, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले भने, “नाका खोल्ने वा नखोल्ने विषयमा छलफल गर्न पाँचवटा मन्त्रालयका सचिवबीच छलफल भइरहेको छ।”

वाणिज्य, अर्थ, स्वास्थ्य, गृह र कृषि मन्त्रालयका सचिवहरूबीच केही दिनयता यसबारे छलफल भइरहेको दुगडले बताए। छलफलमा पाँच मन्त्रालयका सचिवसँगै भन्सार विभागका अधिकारीहरुसमेत सहभागी हुँदै आएका छन्। २८ फागुनदेखि यस्तो छलफल चलिरहेपनि नाका खोल्ने वा केही दिन बन्द राख्ने भन्नेबारे उनीहरु निक्र्योलमा पुग्नसकेका छैनन्।

“छलफलका क्रममा नाका खोल्दा वा बन्द राख्दा नेपाललाई कस्तो असर गर्छ भन्नेबारे कुरा भयो”, बैठकमा सहभागी एक सचिवले भने, “नाका खुला गर्दा नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने हो कि भन्ने डर पनि छ। बन्द राख्दा सिमानामा रोकिएका कन्टेनरहरू ल्याउन सकिएको छैन।”

नाका पुनःसञ्चालनमा आउँदा कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएकाले पाँचवटै मन्त्रालयको पूर्वतयारी आवश्यक पर्छ। नाका खोलिए जाँचमा कडाई गर्नुपर्ने, भन्सार व्यवस्थित गर्नुपर्ने, क्वारेन्टाइन राख्नुपर्नेलगायत विषयमा छलफल भइरहेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख भएको भन्दै केही व्यापारीले नाका खोल्न सरकारलाई दबाब दिइरहेका छन्। केही व्यापारी भने संक्रमणको जोखिम देखेर दबाब नदिने पक्षमा छन्।

चीनसँगका व्यापारिक नाका बन्द हुँदा चीनतर्फ नेपाली व्यापारीका करीब एक हजार कन्टेनर रोकिएका छन्। त्यसमध्ये फलफूल र लसुनका चार सय कन्टेनर, लत्ताकपडाका चार सय कन्टेनर र करिब दुई सय अन्य सामान बोकेका कन्टेनर छन्।

नाकामा रोकिएका फलफुल र लसुनको मूल्य ४ अर्ब ७० करोड रहेको व्यवसायीहरुले बताएका छन्। स्याउ र लसुनबाहेक नाकामा तत्काल बिग्रिने अरू कुनै वस्तु भने छैनन्।

प्रतिक्रिया दिनुहोस्