कोरोना सन्त्रासका कारण दुई शंकराचार्यसहित रामदेव र बालकृष्ण नेपाल आउने कार्यक्रम रोकियो
काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपाल आउन लागेका तीन भारतीय मठाधीशहरूको कार्यक्रम भ्रमण वर्ष सचिवालयले स्थगित गरेको छ।
नेपाली नयाँ वर्षको अवसर पारेर १ बैशाख २०७७ मा उनीहरू नेपाल आउने कार्यक्रम तय भएको थियो।
नेपाल भ्रमण वर्ष २०२०का संयोजक सुुरज वैद्यका अनुसार भारतबाट जगन्नाथपुरी गोवर्द्धन पीठका शंकराचार्य निश्चलानन्द सरस्वती महाराज, काँची कामकोटी पीठका शंकराचार्य विजयानन्द सरस्वती र पतन्जली योग गुरू रामदेवसहित पतन्जली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत(सिईओ) आचार्य बालकृष्ण पनि नेपाल आउने कार्यक्रम तय भएको थियो।
भ्रमण वर्ष सचिवालयले त्यसक्रममा बागमती प्रदेशमा ‘शिव सर्किट’ घोषणा गर्ने र त्यसको प्रवर्द्धनको लागि जगतगुरूसहित रामदेवलाई आमन्त्रण गरेको थियो। “भ्रमण वर्षको अवसरमा शिवजीको घर नेपाल हो भन्ने प्रचार गर्ने कार्यक्रम बनाएका थियौं। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण तत्कालका लागि यो कार्यक्रम स्थगित गरिएको छ”, वैद्यले भने।
शिव भगवानमा आस्था राख्ने करोडौं जनसंख्या दक्षिण एशियामै भएको र पशुपतिनाथको मन्दिर पनि काठमाडौंमा रहेकाले शिव सर्किट बनाउँदा नेपालमा धार्मिक पर्यटकको संख्या बढ्ने वैद्यले बताए।
सचिवालयले आउँदो वर्षको मंसिरमा विवाह पञ्चमीको अवसर पारेर अयोध्याबाट रामको मूर्ति ल्याउने र सीताको मूर्ति नेपालमै तयार गरेर जनकपुरमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
त्यसैगरी, जनकपुरको थप प्रचारको लागि जनकपुर र अयोध्याका महिलालाई सहभागी गराएर फुटबल प्रतियोतिा आयोजना गर्ने कार्यक्रम पनि रहेको उनले जानकारी दिए।
कोरोना भाइरस संक्रमणको कारण नेपाल सरकारले भ्रमण वर्ष २०२० को विदेशमा हुने सबै प्रचारप्रसारको कार्यक्रम रद्द गरेको छ। तर, सचिवायले भ्रमण वर्षको सबै काम नियमित गरिरहेको वैद्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्