सतुंगलबाट १० लाख थान मास्क बरामद

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१९ सतुंगलबाट प्रहरीले करीब १० लाख थान मास्क बरामद गरेको छ।

प्रहरीको विशेष टोलीले आज बिहान छापा मारेर आरडीजी सप्लायर्सको गोदामबाट मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले देखापढीलाई बताए।

प्रहरीले सप्लायर्सका संचालक सुवास महेश्‍वरी र सरोज गोयललाई पक्राउ गरेको छ।

त्यस्तै चालक र मास्क लोड गरिएको ट्रकसमेत नियन्त्रणमा लिइएको बोगटीले बताए।

"मास्क गोदाममा लुकाएर कालो बजारी गरिरहेको सूचनाका आधारमा अपरेसन चलाएका हौं", बोगटीले भने, "बजार अनुगमनलाई तीब्र पारेका छौं, कृत्रिम अभाव गराउनेलाई कानून अनुसार कारवाही गर्छौँ।"

कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमसँगै बजारमा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरिएपछि प्रहरीले निगरानी बढाएको छ।

१ चैतमा पनि काठमाडौंका विभिन्न स्थानबाट ७८ हजार थान मास्कसहित ८ जना पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्