चीनमा कोभिड-१९ का बिरामीको उपचार गरेका चिकित्सकको सरकारलाई १२ सुझाव (भिडिओसहित)

काठमाडौं। चीनको वुहानमा कोभिड–१९ का विरामीको उपचारमा संलग्न भएर नेपाल फर्किएका डा. रमेश आचार्यले यो महामारीबाट बच्न सरकारलाई १२ वटा सुझाव दिएका छन्।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वव्यापी महामारी (प्यान्डेमिक) घोषणा गर्दै सबै देश उच्च जोखिममा रहेको घोषणा गरिसकेको छ। नेपालमा भने यो रोगसँग जुध्न सरकारले देखाउनुपर्ने जति संवेदनशीलता नदेखाएको भन्दै डा. आचार्यले ‘कोभिड–१९ विरुद्ध जनताको संघर्ष’ नारा दिएर अभियान थाल्नुपर्ने माग गरेका छन्।

सरकारलाई डा. आचार्यले दिएका सुझाव यस्ता छन्ः

१. सरकारले ‘कोभिड–१९ कोरोना भाइरसविरुद्ध जनताको संघर्ष’ नारा दिएर आफ्ना कामहरूलाई आन्तरिक रुपमा तयारी गर्ने र सर्वसाधारण जनतालाई डर र त्रासबाट पूर्ण मूक्त गर्नका लागि सबै खालका सचेतना, सतर्कता, स्वास्थ्य सुरक्षाको न्यूनतम् मापदण्ड ग्यारेन्टी गरियोस्। कोरोना संक्रमणविरुद्धको कमजोर तयारीका कारण ७ प्रदेशका राजधानीमा आइसोलेशन वार्ड र कोरोना भाइरस पीसीआर टेष्टको परीक्षण केन्द्र स्थापना गरियोस्।

२. भारत र नेपालको सीमामा रहेका १२९ नाकाहरू र नेपालको अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा ३० दिनको लागि बन्द गरियोस्। जुत्ता, चप्पल खोलेर जानुपर्ने मन्दिर, गुम्बालगायतका धार्मिक स्थानहरू र मानिसको भिडभाड हुने पार्क, विद्यालय, सिनेमाघर, विवाह–व्रतवन्धका पार्टी एवं राजनीतिक दलका साथै संसदका सबै कार्यक्रमहरू एक महिनाका लागि तत्काल बन्द गरियोस्।

३. प्रत्येक नागरिकको तापक्रम मापनको लागि नयाँ एप्स बनाई विहान र बेलुकाको तापक्रम नापेर अनलाईन अभिलेख राख्नुका साथै ज्वरो र रुघाखोकीको उपचारको लागि फरक–फरक अस्थायी उपचार केन्द्रको व्यवस्था गरियोस्।

४. सबै सरकारी अस्पतालका डाक्टर, नर्स र प्यारामेडिक्स तथा सुरक्षा निकायलाई अनिवार्य कोभिड–१९ सुरक्षा तालिम दिई सम्भावित जोखिम समाधानको पूर्वतयारी कायम गरियोस्।

५. स्थानीय पालिकादेखि सबै जिल्लामा इमरजेन्सी टास्कफोर्स गठन गरी उपप्रधानमन्त्रीको सयोजकत्वमा विभिन्न उपसमिति गठन गर्ने, आपतकालिन अवस्थाको लागि उद्दार टीम बनाउने र सातवटै प्रदेश तथा प्रत्येक शहरका लागि फरक–फरक स्वास्थ्य इकाई गठन गर्ने व्यवस्था गरियोस्।

६. मन्त्रीपरिषद्का सदस्य, सांसद, उच्चपदस्थ व्यक्ति, सुरक्षाकर्मी, चालकहरूसहित जोखिम क्षेत्रमा उद्दारका लागि खट्ने कर्मचारीहरू सबैले अनिवार्य रुपमा एन–९५ मास्क लगाउने व्यवस्था गरियोस्। घरबाट मास्क लगाइसकेपछि घरमा फिर्ता नहुने बेलासम्म उक्त मास्क, मुख, नाक आँखामा हातले नछुने कार्यविधि अनिवार्य लागू गरियोस्।

७. सबै खालका औषधीहरू, खाद्यान्न, इन्धन, मास्क, ह्याण्ड स्यानिटाइजर लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था गरियोस्। विपतको समयमा यी वस्तुको कालोबजारी रोक्नको लागि आपूर्तिमन्त्रीको संयोजकत्वमा सुरक्षाकर्मीसहितको उच्चस्तरीय समिति गठन गरि त्यसको उल्लंघनमा कडा कारवाही गर्ने व्यवस्था गरियोस्।

८. दुई हप्तादेखि हालसम्म विदेशबाट नेपालमा आएका सबै विदेशी तथा स्वदेशी मानिसलाई सेल्फ आइसोलेनमा बस्न अनिवार्य गरियोस्। उनीहरूको शरीरको तापक्रम नापेर हरेक दिन अभिलेख राख्न लगाउने र यदि नमानेको खण्डमा सुरक्षाकर्मी लगाएर सार्वजनिक स्वास्थ्यको प्रतिकुल कार्य गरेबापतको कसुरमा कारवाही गरियोस्।

९. टेकुको प्रयोगशालामा एक दिनमा कम्तिमा २५०० जना कोरोनाका संकास्पद संक्रमितको जाँचको लागि आवश्यक पर्ने ¥यापिड टेष्ट किट्स ९एऋच् त्भकत० उपलब्ध गराइयोस् त्यसको लागि तालिम प्राप्त दक्ष आवश्यक जनशक्ति व्यवस्था गरियोस्।

१०. कम्तिमा ५०० शय्याको आईसीयू र कम्तिमा पाँच हजार शय्याको अस्थायी आइसोलेसन वार्डको व्यवस्था गरियोस्।

११. विद्यालयदेखि स्थानीय तहसम्म हटलाईन, एसएमएस, एफएम, टेलिभिजन, मोबाइल एप्स र सामाजिक संजालमार्फत् सजगता र जनचेतना निर्माण गर्न र ‘एक व्यक्ति एक साबुन’ नाराअन्तर्गत् दिनमा कम्तिमा १० पटक साबुनपानीले राम्रोसँग हात धुन आह्वान गरियोस्।

१२. आम सर्वसाधारणले समेत यस महामारीबाट जोगिन र सुरक्षित रहनका लागि निम्न लिखित लक्षणहरू देखिएमा रोकथामका उपायहरू अवलम्बन गर्न अनुरोध गर्दछु।

मुख्य लक्षणहरूः

१. अचानक १०२ डिग्रीभन्दा माथिको ज्वरो आई तीन दिनभन्दा बढी नियन्त्रणमा नरहेमा,

२. तीन दिन भन्दा बढी श्वासप्रस्वासमा समस्या देखिएमा,

३. पाँच दिनभन्दा बढी सुक्खा खोकी लागेमा,

रोकथामका मुख्य उपायहरूः

१. ‘एक परिवारः एक थर्मोमिटर’ अभियान संचालन गर्ने र प्रत्येक परिवारले विहान र बेलुका दिनमा दुईपटक शरीरको ताप मापन गर्ने।

२. ‘एक व्यक्तिः एक साबुन’ अभियान संचालन गर्ने। प्रत्येक व्यक्तिले कम्तिमा चार पटक (शौचालय प्रयोग गरेपछि, खाना खानुभन्दा अघि र पछि, बाहिरबाट घरमा प्रवेश गरेपछि) मजाले मिचिमिचि एक मिनेटभन्दा बढि समय लगाएर हात धुने।

३. खोक्दा, हाँच्छ्यु गर्दा रुमाल वा टिस्यू पेपरको प्रयोग अनिवार्य गर्ने र रुघा खोकीबाट संक्रमित व्यक्तिबाट टाढै रहने, सार्वजनिक स्थानहरूमा जथाभावी हातले नछुने, सरसफाइमा विशेष ध्यान दिने र भीडभाडमा जाँदा मास्क लगाउने।

प्रतिक्रिया दिनुहोस्