स्पेनका फुटबल प्रशिक्षकको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट स्पेनमा २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ।

मालागाको एट्लेटिको पोर्टाडा अल्टाको युथ टीमका प्रशिक्षक गार्सिया ‘ल्युकेमिया’ रोगबाट पनि गुज्रिरहेका थिए।

जसका कारण पनि उनमा भाइरस संक्रमण चाडो फैलिएको जनाइएको छ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनलाई अस्पताल लगिएको थियो।

स्पेनिस पत्रिका मालागा होएका अनुसार गार्सियालाई श्‍वासप्रश्‍वासमा समस्या देखिएको थियो।

पछि उनलाई कोरोना भाइरस र निमोनिया भएको जनाइएको थियो।

तथापी ‘ल्युकेमिया’का विरामी गार्सियालाई कोरोना भाइरस संक्रमण भएपछि झनै बल्झिएको थियो।

'हाम्रा प्रशिक्षकको परिवारप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौं,' क्लबको विज्ञप्तिमा भनिएको छ, 'गार्सियाविना हामी अपूर्ण भएका छौं। हामी उहाँलाई विर्सन सक्दैनौं। उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं।'

गार्सियाले चार वर्षदेखी जुनियर टीमलाई प्रशिक्षण दिँदै आएका थिए।

क्लबका अध्यक्ष पेप बुएनोले उनको स्वास्थ्यस्थिति अचानक व्रिगिएको बताएका छन्।

‘‘फ्रान्सिस्को प्रतिभावान प्रशिक्षक थिए। हामी आश्चर्यमा परेका छौं। अस्पतालबाट मलाई बेलुका सात बजे फोन आउँदा उनको अवस्था स्थिर रहेको बताइएको थियो। तर, एक घण्टापछि कोरोना भाइरस र क्यान्सरका कारण..... मलाई विश्वास नै लागेको छैन।’’

गार्सिया सम्भवत: कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने सबभन्दा सानो उमेरका हुन्।

यसअघि इटलीमा ३८ वर्षिया र चीनमा ३६ वर्षियाको मृत्यु भएको थियो।

मालामा कोरोना भाइरसका कारण मृत्यु हुने पाँचौं व्यक्ति हुन्। यसअघि मृत्यु हुने चारै जना ७० वर्षमाथिका थिए।

प्रतिक्रिया दिनुहोस्