प्रदेशकाे सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुन्छः प्रदेश १ सभामुख

विराटनगर। प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पदाधिकारीहरूसँगको भेटघाटमा सभामुखले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने बताएका छन्।

सो अवसरमा महासंघका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शीतलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी थिए। सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले साे भेटघाट भएकाे हाे।

सभामुख भण्डारीले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पारेका छन्। उनले संसद् व्यवस्थितरूपमा सञ्चालन भइरहेको र प्रदेश १ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालू अधिवेशनबाटै प्रदेशको नामाकरण हुने प्रस्ताव संसद्मा पेश हुने विश्वास दिलाएका छन्।

उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरूले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्