भुटानले अनिश्चितकालका लागि बन्द गर्यो सबै विद्यालय र शैक्षिक संस्था

काठमाडौं। भुटानको प्रधानमन्त्री कार्यालयले आज एक सूचना प्रकाशन गरेर देशभरका सबै विद्यालय र शैक्षिक संस्था अर्को आदेश जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाएको छ।

भोलिदेखि लागू हुने गरी विद्यालयहरू बन्द गरिएको हो। प्रधानमन्त्री कार्यालयले कोभिड-१९ को प्रभाव विश्वव्यापि देखिए पनि भुटानभित्र भने नियन्त्रित अवस्थामा रहेको जनाएको छ।

‘अहिले विदेशमा रहेका धेरै भुटानीहरू घर फर्किरहेका छन्। यो अवस्थामा सावधानिको उपायको रूपमा हाम्रा बच्चाहरूलाई घरभित्र सुरक्षित राख्न चाहन्छौं,’ प्रधानमन्त्री कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘हामी ढुक्क नहोउन्जेलसम्म उनीहरूलाई स्कुल र कलेज पठाउने छैनौं।’

यसअघि भुटानले चार जिल्लाका सबै शैक्षिक संस्था बन्द गरेको थियो। त्यसले अभिभावकले आफ्ना सन्तानको रेखदेख गर्न, पठनपाठन गराउन र उनीहरूबीच राम्रो सम्बन्ध विकास गर्न’ मद्दत पुगेको पाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

‘विद्यार्थीहरूले घरमा बसेर समय खेर नफालुन् भन्नेबारा हाम्रा शिक्षकहरू पनि सजग छन्। उनीहरूले गृहकार्य दिइरहेका छन्,’ सूचनामा भनिएको छ, ‘अनलाइन प्रविधिको माध्यमबाट शिक्षकहरूले विद्यार्थीसँग सम्पर्क गरिरहेका छन्।’

शिक्षक-विद्यार्थीको यस्तो सम्बन्ध र सिकाईको नयाँ तरिकालाई सरकारले प्रोत्साहन गर्ने भन्दै भुटानले देशैभरका सरकारी र निजी दुवै विद्यालयका शिक्षकलाई त्यसो गर्न आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भुटानमा एक जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। भुटान भ्रमणमा आएका अमेरिकी नागरिक संक्रमित भएकोमा उनलाई थप उपचारका लागि अमेरिका पुर्‍याइएको छ।

प्रतिक्रिया दिनुहोस्