दैनिक उपभोग्य वस्तुको कालोबजारी रोक्न ‘मोबाइल पसल’ राख्दै सरकार
काठमाडौं। सरकारले दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि मोबाइल पसल र सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ।

केही दिनभित्रै सञ्चालनमा आउने ती पसलमा सहुलियत मूल्यमा नुन, तेल, चिनी, दाल, चामल, खाना पकाउने एल.पी. ग्यास र इण्डक्सन चुलो पाइनेछ।

विश्वमा कोरोना भाइरस (कोभिड-१९) महामारीको रूपमा फैलिएपछि नेपालमा दैनिक उपभोग्य वस्तुको अभाव देखिन थालेको छ।

कृत्रिम अभाव देखाएर व्यवसायीले कालोबजारी गर्न शुरू गरेपछि सरकार आफैंले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा यस्तो जानकारी दिएका हुन्।

उनले कालोबजारी रोक्ने सरकारको तयारीअनुसार सहुलियत मूल्यका पसल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए। भने, “त्यसको तयारी मन्त्रालयले गर्दैछ।”

सरकारले सञ्चालन गर्ने पसल साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको नेतृत्वमा चल्नेछ। सरकारले दशैं र तिहारको समयमा यस प्रकारका सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्