कोभिड-१९ त्रास : नेपाल-इङल्यान्डबीचको मैत्रीपूर्ण खेल स्थगित

काठमाडौं। कोभिड-१९ को जोखिमका कारण नेपाली राष्ट्रिय फुटबल टीम र इङल्यान्डको ‘सी’ टीमबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाले दुई देशबीचको १२ जेठ २०७७ मा इङ्ल्यान्डमा हुने भनिएको मैत्रीपूर्ण खेल अनिश्‍चितकालका लागि स्थगित भएको जनाएको हो।

गत माघमा अखिल नेपाल फुटबल संघ (एन्फा) र इङल्यान्ड फुटबल संघ (एफए) बीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मारिछरिङ शेर्पा र एफएका राष्ट्रिय लिग समितिका प्रमुख लरेन्स जोन्सले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार नेपालले अल्डरसट टाउन एफसीमा इङल्यान्डको ‘सी’ टीमविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तथा २०२१ मा इङ्ल्यान्डको टीम नेपाल आउने तालिका थियो।

तर, कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डमा अहिले फुटबल गतिविधि स्थगन गरिएको छ।

नेपालमा पनि ४ चैतबाट एन्फाले सचिवालयसमेत बन्द हुने गरी सम्पूर्ण फुटबल गतिविधि स्थगित गरेको छ।

प्रतिक्रिया दिनुहोस्