तेल लुकाउने पेट्रोल पम्पलाई कारबाही गर्न हच्कियो आयल निगम
काठमाडौं। २ र ३ चैतमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसेर इन्धन नबेच्ने पेट्रोल पम्पलाई तत्काल कारबाही नगरिने भएको छ।

पम्पहरूले ३ चैत बेलुकीदेखि लागू हुनेगरी मूल्य घट्ने सूचना पाएपछि दुई दिनसम्म तेल बिक्री गर्न बन्द गरेका थिए।

ती पम्पहरूमध्ये केहीले आयल निगमबाट थोरै तेल लिएका थिए भने केहीले तेल नै लिएका थिएनन्।

त्यसमा पनि २४ वटा पेट्रोल पम्पले निगमबाट तेल नै उठाएनन् र पम्प पूर्णरुपमा बन्द गरे।

आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले दुई दिनसम्म तेल नबेच्ने ती पम्पहरूलाई निगमले स्पष्टीकरण सोधेको बताएका थिए।

तर, पौडेलले नै उनीहरूलाई तत्काल कारबाही भने नगरिने बताए।

उनले भने, “हामी अझै पनि तेल नबेच्ने पम्पहरूको जानकारी लिइरहेका छौं।”

पौडेलले कतिपय पम्पहरूले बिहानदेखि बेचेर सकिएपछि बन्द गरेका हुन सक्ने र कतिपयले निगमबाटै तेल नउठाएको हुनसक्ने उल्लेख गर्दै केहीले भने तेल भएर पनि नबेचेको हुन सक्ने बताए।

“जुन तरिकाले तेल नबेचेको भएपनि त्यस्ता पम्पहरूलाई कारबाही गर्छौं, तर तत्कालै कारबाही गर्ने तयारी होइन”, पौडेलले भने, “अहिले पम्पहरूलाई कारबाही गर्नतर्फ लाग्यौं भने बजारमा तेलको थप अभाव सृजना हुन सक्छ। त्यसैले यो अभाव सकिएपछि सबैलाई कारबाही गर्छौँ।”

आवश्यक अध्ययनपछि पम्पहरूलाई लाइसेन्स खारेजीसम्मको कारबाही हुनसक्ने उनले जानकारी दिए।

दुई दिनसम्म पम्पहरूले तेल नबेच्दा बजारमा इन्धनको अभाव सृजना भएको थियो।

हिजो, ४ चैतदेखि खुलेका पेट्रोल पम्पहरूमा पनि लामो लाइन देखियो।
कोरोना भाइरस संक्रमणका कारण नेपाल-भारतको सिमा नाका बन्द हुने चर्चा चलेको समयमा पेट्रोल पम्पहरूले तेल छैन भनेपछि थप अन्यौल बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर घट्दो अवस्थामा छ।

त्यसमा पनि भारतले प्रत्येक १५ दिनमा आयल निगमलाई तेलको मूल्य सूची पठाउँदै आएको छ। र, त्यो मिति सबै पेट्रोल पम्पहरूलाई जानकारी हुन्छ।

त्यसरी, मूल्य घट्ने सूचना पाइसकेपछि नोक्सानी हुनबाट जोगिन पेट्रोल पम्पहरूले ‘तेल छैन’ भन्ने सूचना टाँसेर दुई दिन पम्प नै बन्द गरेका थिए।

गलत सूचना दिएर पम्प बन्द गरे पनि उनीहरू तत्काल कारबाहीको भागीदार नहुने भएका छन्।

दुई दिनसम्म पम्पहरू बन्द हुँदा तेस्रो दिन (हिजो, ४ चैत) देखि तेलको माग दोब्बरले बढेको छ।

माग बढेको समयमा पम्पलाई कारबाही गर्दा अवस्था थप बिग्रिने भएकाले तत्काल कारबाही नगरिने आयल निगमको तर्क छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने मैतिदेवी पेट्रोल सप्लायर्सलाई जरिवाना गरेको छ।

अनुगमनका क्रममा पेट्रोल लुकाएको पाइकाले दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

विभागले उपत्यकाका १४ पम्पहरूमा अनुगमन गरेको थियो।

सरकारले डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासलाई दैनिक उपभोग्य वस्तुको सूचीमा राखेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्