कोभिड-१९ सन्त्रासकाे प्रभाव रगत संकलनमा
चितवन। कोरोना भाइरसको सन्त्रासले सभा, सम्मेलन हुन छाडेसँगै रक्तदानका कार्यक्रम प्रभावित भएका छन्। यसको प्रत्यक्ष प्रभाव रगत संकलनमा परेको छ। जसकारण बिरामी उपचारमा समस्या हुन थालेको देखिन्छ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार पूर्वनिर्धारित १० भन्दा बढी रक्तदानका कार्यक्रम स्थगन भएका छन् ।

दैनिक १५० युनिट हाराहारी रगत यहाँ माग हुने गर्छ। कार्यक्रमनै नभएपछि बिरामीका आफन्तले रक्तदाता खोजेर ल्याउनुपर्ने परिस्थिति सिर्जना भएको छ।

पौडेलले भने, “धेरै कार्यक्रम स्थगित भए, भएका कार्यक्रममा पनि लक्ष्यको आधा मात्र रगत संकलन हुने गरेको छ।” माग बढ्दै जाने तर, रगत संकलन नभएपछि समस्या भएको उनले बताए।

३० फागुनमा २१ युनिट रगत संकलन भएकोमा त्यसपछि ४ चैतमा १०२ युनिट रगत संकलन भएको पौडेलले जानकारी दिए।

जिल्लामा सबैभन्दा बढी रगत वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा खपत हुने गर्दछ। सो अस्पतालमा मात्र केन्द्रबाट ४० प्रतिशत रगत जाने गर्छ। बाँकी ६० प्रतिशत भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र निजी अस्पतालमा खपत हुने गर्दछ। रगतकै अभावमा ती अस्पतालमा शल्यक्रिया प्रभावित भएका छन्। रगत नपाएर अत्यावश्यक बाहेकका शल्यक्रियाको समय सार्न थालिएको छ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोनाबाट बच्न अन्य किसिमका सभा सम्मेलन, भेलाहरू नगर्न आग्रह गरिए पनि रक्तदान कार्यक्रमलाई प्रोत्साहित गरिएको बताए। उनले रक्तदानमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन्।

कोरोनाको त्रासको यस समयमा रगतका कारणले कसैले ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानका कार्यक्रम गरिदिन केन्द्रले अनुरोध गरेको छ। नेपाल रेड्क्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेका अनुसार नेपाल स्वयमसेवी रक्तदाता समाज र बिरामीका आफन्तहरूले दाता खोजेर अहिलेको संकट टारिरहेका छन्।

केन्द्रमा चितवनसहित नवलपरासीको दाउन्ने पूर्व र पश्चिम, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, मकवानपुर, रौतहट, सप्तरी र सर्लाहीबाट रगत सङ्कलन हुने गर्दथ्यो। ती जिल्लामा पनि रक्तदानका कार्यक्रम बन्द भएको उनले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्