विद्युतीय बैंकिङ कारोबार निःशुल्क, जुनसुकै एटीएम बुथ प्रयोग गरे पनि शुल्क नलाग्ने

काठमाडौं। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्न बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई निःशुल्क बनाएका छन्।

नेपाल बैंकर्स एशोसियसन, विकास बैंक एशोसियसन र नेपाल वित्तीय संस्था संघले ईन्टरनेट, मोबाइल बैंकिङ र एटीएममार्फत हुने कारोबारलाई निःशुल्क गरेका हुन्।

संकटका बेला बैंकिङ कारोबारलाई सजिलो बनाउन र विद्यूतीय कारोबारलाई प्रोत्साहन गर्न यस्तो कारोबार निःशुल्क गरिएको नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन दाहालले देखापढीलाई बताए।

नोटबाट पनि भाइरस संक्रमण हुन सक्ने जोखिमलाई ख्याल गर्दै नगद कारोबारलाई कम गर्न विद्युतीय कारोबारलाई प्रोत्साहन गरिएको दाहालले बताए।

यसका साथै, नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवामा समेत शुल्क नलाग्ने भएको छ।

विद्युतीय कारोबारका कारण बैंकहरुमा हुने भीडभाड पनि कम हुनेछ।

त्यसैगरी इन्टरनेट, मोबाइल बैंकिङ्ग सेवाको पासवर्ड बिर्सिए वा कुनै प्राविधिक जिज्ञासा भएमा बैंकमा नगई सम्बन्धित शाखाबाट फोनमार्फत् सहयोग लिन ग्राहकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्