प्रदेश १ मा एक साताभित्र ५० शय्याको अस्पताल बनाइने, कोभिड-१९ सँग जुध्न १२ निर्णय (सूचीसहित)

विराटनगर। विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ प्रति सावधानी अपनाउँदै प्रदेश १ सरकारले एक साताभित्र ५० शय्या क्षमताको अस्पताल बनाउने भएको छ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको आज बसेको बैठकले कोभिड-१९ संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै तयारी र प्रतिकार्यका लागि १२ निर्णय गरेको छ।

बैठकले साविक नेशनलन ट्रेडिङ लिमिटेडको भवनमा भेन्टिलेटरसहितको ५० शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले देखापढीलाई बताए।

त्यसका लागि एक साताभित्र अस्पताल संचालन गर्न सामाजिक विकास मन्त्रालयले जनशक्तिको व्यवस्थापन गर्ने र नेपाली सेना, नेपाल प्रहरी एवं सशस्त्र प्रहरीले सहयोग गर्ने गरी योजना बनाइएको छ।

त्यस्तै भारत र चीनसँग सीमा जोडिएका प्रदेशका प्रमुख तथा साना नाकाहरू बन्द वा व्यवस्थित गर्न तत्काल पहलका लागि केन्द्र सरकारलाई अनुरोध गरिएको छ।

निर्णयहरू:

१. माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलज्यूको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६/१२/०५ को निर्णय कार्यान्वयन गर्ने।

२.प्रदेश नम्बर १ अन्तर्गतका प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्ने साथै साना नाकाहरुमा आवतजावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने।

३. प्रदेशस्थित सबै सरकारी तथा गैह्रसरकारी सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरुमा निर्देशन दिने । उपरोक्त व्यवस्था Departmental Stores तथा निजी अस्पतालहरुमा समेत गर्न निर्देशन दिने।

४. बढी मानिसहरुको जमघट हुने मेला, हाटबजार तथा बनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेधलाई निरन्तरता दिने।

५. प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु (दर्ता, नविकरण, सवारीचालक अनुमतीपत्र) २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने। सो अवधिभर गराउनुपर्ने त्यस प्रकृतिका कार्यहरुमा लाग्ने थप जरिवाना साविक बमोजिम नै लिने।

६. बढी जनसम्पर्क हुने कार्यालयहरुमा भिडभाड गर्न नदिने र उच्च सतर्कता अपनाउन निर्देशन दिने।

७. भन्सार बिन्दुबाट नेपालको नजिकैको शहरमा सुबिधामा आउने भारतीय सवारी साधनहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अर्थ मन्त्रालयमा अनुरोध गर्न सिफारिस गर्ने।

८. प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य शुरु गर्ने।

९. न्युनतम १० बेडको भेन्टीलेटर सहित ५० शय्याको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ता भित्र स्थापना गर्ने।

यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने । आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने।

१०. COVID को परिक्षणको लागि कोशी अस्पताल र वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिकल प्रयोगशालालाई आवश्यक स्तरोन्नती गरी प्रयोग गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने।

११. अस्पतालको सुरक्षा आन्तरीक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरक्षा निकायले गर्ने।

दैनिक रूपमा समग्र अनुगमन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा २५ सदस्यीय अनुगमन समिति गठन गर्ने।

प्रतिक्रिया दिनुहोस्