कोभिड-१९ बाट जोगिन अष्ट्रेलियामा लकडाउनको तयारी

काठमाडौं। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोभिड-१९ को महामारी फैलिन नदिन ‘लकडाउन घोषणा’ गरिनसक्ने जनाएका छन्।

सरकारले अत्यावश्यक काममा बाहेक घरमै बस्न अनुरोध गर्दागर्दै पनि ८ चैतमा सिड्नीको बोन्डी लगायतका सुमद्री किनारमा मानिसहरूको भीड जम्मा भएपछि अष्ट्रेलियाली सरकारले त्यस्तो तयारी गरेको हो। ५०० भन्दा बढी मानिस जम्मा भएपछि बोन्डी समुद्री किनार बन्द गरिएको थियो।

प्रधानमन्त्री मरिसनले समुद्री किनारमा जम्मा भएको भीड ‘गम्भीर नीति अपनाउन ढिलो भइसकेको चेतावनी’ भएको बताएका छन्।

उनले यो विश्वव्यापी महामारीका कारण अर्थतन्त्रमा आएको क्षति न्युन गर्न वित्तीय प्याकेजको घोषणा पनि गरे।

पछिल्ला दिनमा अष्ट्रेलियामा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेछ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार ८ चैतसम्म त्यहाँ संक्रमितको संख्या ८७३ पुगेको छ भने ७ जनाको निधन भइसकेको छ।

प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाका जनतालाई सरकारले तोकेका नियम पालना गर्न अनुरोध गरेका छन्।

"एक अर्काबीच आवश्यक दूरी कायम गर्नुहोस्", उनले भने।

उनले आज छलफल गरेपछि कठोर नीति अपनाइने जनाएका छन्। उनले ठूलो संख्यामा संक्रमित फेला परेका क्षेत्रमा लकडाउन घोषणा गरिने बताएका छन्। -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्