पाेखरामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द

पाेखरा। कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिन गण्डकी प्रदेशको राजधानी रहेको पोखरामा आज अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द भएका छन्।

सरकारले देशैभरि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

सार्वजनिक सेवा बन्द भए पनि कार्यालय भने खुल्ला रहेको कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए। जिल्लामा अनुगमनको पाटोलाई प्रभावकारी बनाइने बताउँदै उनले कार्ययोजनाका साथ बजार एवं सार्वजनिक सरोकारका क्षेत्रमा अनुगमन गरिने जानकारी दिए।

यस्तै पोखरा उद्योग वाणिज्य संघले कोभिड-१९ को सम्भावित संक्रमणबाट जोगिन अत्यावश्यक बाहेकका सबै उद्योग र व्यावसायिक प्रतिष्ठान बन्द गर्न उद्योगी/व्यवसायीसँग आग्रह गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रका नाममा भएको सम्बोधन कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि गरिएको अपिलको पूर्ण पालना गर्न आग्रह गरेको हो।

प्रधानमन्त्रीको सम्बोधनमा चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न आह्वान भएको थियो। सरकारले विभिन्न १९ वटा सेवालाई अत्यावश्यक मानेको छ। संघको विज्ञप्तिमा औषधि, पानी, इन्धन, दूध,तरकारी, खाद्यान्नलगायत अत्यावश्यक सेवा प्रदान गर्ने उद्योगी/व्यवसायीलाई पनि सुरक्षाका सबै उपाय अवलम्बन गर्न आग्रह गरिएको छ। अत्यावश्यक सामान उत्पादन गर्ने उद्योग सञ्चालन गर्दा पनि यही प्रक्रिया अपनाउन संघको आग्रह छ। रासस

प्रतिक्रिया दिनुहोस्