तमोरको सर्वे लाइसेन्स चिनियाँ कम्पनीलाई दिने लगानी बोर्डको निर्णय

काठमाडौं। लगानी बोर्डले ७५६ मेगावाटको तमोर जलाशाययुक्त विद्युत आयोजनाको सर्वे लाइसेन्स जलविद्युत् विकास कम्पनी लिमिटेडसँग जेभी रहेको पावर कन्स्ट्रक्सन अफ चाइना लिमिटेडलाई दिने निर्णय गरेको छ ।

तमोरको सर्वे लाइसेन्स सम्बन्धी एक मात्र अजेण्डासहित लगानी बोर्डको आज बसेको बैठकले उक्त निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले देखापढीलाई जानकारी दिए ।

१५–१६ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा बोर्डले यो आयोजनालाई सोकेसमा राखेको थियो । त्यसपछि दुई वटा जेभी कम्पनीबाट प्रस्ताव माग गरी तिनको मूल्यांककन गर्न उर्जा, जलस्रोत तथा सिंचारमन्त्री वर्षमान पुनको नेतृत्वमा मूल्यांकन समिति गठन गरिएको थियो ।

मन्त्री नेतृत्वको समितिको मूल्यांकन प्रतिवेदन अध्ययन गरी आज त्यसैका आधारमा बोर्डले यी कम्पनीलाई सर्वे लाइसेन्स दिने निर्णय गरेको हो ।

यो जलविद्युत आयोजना चिनियाँ लगानीमा निर्माण गर्नेगरी भोलीदेखि हुने चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा अजेण्डाको रूपमा प्रस्तुत गरिने एक मन्त्रीले देखापढीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्