कञ्चनपुरका पत्रिका बन्द गर्न पत्रकार महासंघ कञ्चनपुरको आह्वान

कञ्चनपुर। नेपाल पत्रकार महासंघ कञ्चनपुरले जिल्लाका पत्रिका बन्द गर्न आग्रह गरेको छ।

कोभिड-१९ को विश्वव्यापी महामारीबाट बच्न पत्रिका बन्द गरेर सेल्फ क्वारेन्टाइनमा बस्न महासंघले अनुरोध गरेको हो।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले एक विज्ञप्ति जारी गर्दै पत्रिका बन्द गरेर पत्रकार तथा छापामा काम गर्ने सम्पूर्णलाई महामारीको प्रभाव नरोकिएसम्मका लागि सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका हुन्।

घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ। त्यस्तै रेडियो तथा रेडियो पत्रकारलाई समेत सावधानी अपनाएर मात्र काम गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएकाे छ, “माइक्रोफोनमा बोल्दा थुकका छिटाहरू माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफूतिर फर्काएर बोल्दा अन्तर्वार्ता लिने पत्रकार पनि जोखिममा पर्न सक्ने भएकाले भीडभाड नगरी सकेसम्म टेलिफोनबाटै सूचना लिई समाचार सम्प्रेषण गर्न रेडियोकर्मी पत्रकारहरूलगायत सबै पत्रकार साथीहरूलाई अनुरोध छ।”

कञ्चनपुरमा अहिले १८ वटा पत्रपत्रिका प्रकाशनमा छन्। प्रेस काउन्सिलको वर्गीकरणका लागि न्यूनतम ३०० अंक पुर्‍याउनुपर्ने हुन्छ।

कोभिड-१९ को महामारीका बेला पत्रिका बन्द गर्दा त्यो मापदण्ड पूरा नहुन सक्छ। त्यसका लागि महासंघले पहल गर्ने अध्यक्ष अवस्थीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्