बिरामीका कारण महराको बयान स्थगित

काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिलालाई बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको बयान लिने काम स्थगित भएको छ।

प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनुअघि उनीसँग कुराकानी गरेको थियो । त्यस लगत्तै महराले छाती दुखेको बताएपछि २३ असोजदेखि उनी नर्भिक अस्पतालमा उपचारको क्रममा छन्।

“हाम्रै अगाडि बयान लिनुअघि सामान्य कुराकानी भएको हो, बयान लिन थाल्नै लाग्दा उहाँले स्वास्थ्यमा समस्या भएको बताउनुभयो। अस्पताल भर्ना भएपछि बयान हुने कुरै भएन,” एक सरकारी वकिललाई उद्धृत गर्दै आजको कान्तिपुरले समाचार लेखेको छ। २६ असोज (आइतबारसम्म) सार्वजनिक विदा परेकाले त्यसपछि मात्र बयान हुनेछ।

फौजदारी अभियोगमा पक्राउ परेका आरोपितलाई प्रहरीले सकारी वकिलको रोहवरमा बयान लिनुपर्ने कानूनी व्यवस्था छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले स्वास्थ्य समस्याको कारण प्रहरी हिरासतकै अवस्थामा महराको अस्पतालमा उपचार भइरहेकाले बयान लिन नमिलेको तर उजुरीमाथि अनुसन्धान भने जारी रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्