किसानलाई परिचयपत्र बाँड्ने तयारी

काठमाडौं। सरकारले किसानलाई परिचयपत्र दिने तयारी थालेको छ। परिचयपत्रको आधारमा अनुदान, बीउबिजन र सुविधा वितरण गर्ने गरी सरकारले तयारी थालेको हो।

अनुदानको मल तथा बीउबिजनमा विचौलिया हावी भएपछि परिचयपत्र बनाउने र त्यसमार्फत व्यवस्थित गर्ने कामका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य गरिरहेको आजको कान्तिपुरमा छापिएको छ।

मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार यो कार्यक्रमको सुरु चरणमा ७ वटा प्रदेशको ७ जिल्लाका लागि २१ करोड बजेट प्रस्ताव गरिएको छ । त्यसपश्चात क्रमशः बढाउँदै अन्य जिल्लामा पनि वितरण गरिने सुवेदीले बताएका छन्।

“किसान परिचयपत्रका लागि कार्यविधि बन्ने क्रममा छ, किसान आयोग वा मन्त्रालय स्वयंकै माहतमा राख्ने भने टुंगो लागेको छैन,” उनले भने।

मन्त्रालयका अनुसार परिचयपत्रमार्फत मल बीउसँगै किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराइनेछ।

हाल सरकारले गरिब घरपरिवार पहिचान गरिरहेको छ। न्यून आय भएका गरिब परिवार पहिचान कार्यक्रम २०६९ मा सुरु भएको थियो।

पहिलो चरणमा २५५ जिल्लामा ३ लाख ९१ हजार ८३१ गरिब परिवार पहिचान भएको थियो।

प्रतिक्रिया दिनुहोस्