आज बिहानदेखि देशैभर लकडाउन, सरकारको निर्देशन अटेर गर्नेलाई कैद र जरिवाना हुने
संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको लकडाउनको आदेश आज बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि लागू हुनेछ।
लकडाउनको अवधिभर औषधि उपचार र खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि काममा घरबाहिर निस्कन पाइने छैन।
९ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले देशैभर कोभिड-१९ को संक्रमण फैलिने सम्भावना देखिएकाले त्यसको रोकथाम र निर्मूल पार्न लकडाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता (अर्थ र सूचना तथा सञ्चार प्रविधिमन्त्री) डा. युवराज खतिवडाले जानकारी दिए।
संक्रामक रोग ऐन- २०२० मा कुनै सरकारले जारी गरेको निर्देशनको अवज्ञा गर्ने जुनसुकै व्यक्तिलाई एक महीनासम्म कैद र एक सय रूपैयाँ जरिवाना हुने उल्लेख छ।
ऐनको दफा ३ (१) मा भनिएको छ, ‘यो ऐन वा यस ऐनअन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
यस्ता छन् आदेशः
१. औषधि उपचार र खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि काममा घरबाहिर ननिस्कने।
२. अनुमति प्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक बा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने।
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरू बन्द गर्ने।
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरूलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने।
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरूमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने।
६.व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने, अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्