आजदेखि आन्तरिक हवाई उडानहरू पनि बन्द

काठमाडौं । आजदेखि एक साताका लागि आन्तरिक हवाई उडानहरू पनि बन्द भएका छन्।

विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ लाई फैलन नदिन संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आजदेखि देशैभर एक साताको लागि लकडाउन आदेश जारी गरेको छ।

मन्त्रिपरिषद्को ९ चैतमा बसेको बैठकले सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरू बन्द गर्ने निर्णय गरेको थियो।

अन्तर्राष्ट्रिय उडानहरू भने ९ चैत रातिबाटै स्थगित गरिसकिएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजन पोखरेलले विज्ञप्ति जारी गर्दै रेस्क्यू, एयर एम्बुलेन्सलगायतका इमर्जेन्सी फ्लाइट भने बन्द नगर्ने जानकारी गराएका छन्।

त्यस्तै हिजोदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू संचालनमा रोक लगाइएको छ।

उडान बन्द गर्ने निर्णयसँगै बुकिङ गरिएका हवाई टिकट रद्द हुनेछन्। सम्बन्धित वायुसेवा कम्पनीलाई यात्रुलाई टिकटको रकम निःशुल्क फिर्ता (रिफन्ड) गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्