चितवन र कैलालीमा लकडाउन उल्लंघन गर्ने ३९ जना पक्राउ

काठमाडौं। कोभिड-१९ फैलिन नदिन सरकारले आजदेखि जारी गरेको लकडाउनको उल्लंघन गरेको आरोपमा चितवनबाट १० जना पक्राउ परेका छन्।

त्यस्तै कैलालीको टीकापुरमा मोटरसाइकलसहित २९ जनालाई नियन्त्रणमा लिइएको छ।

बिहानैदेखि गरिएको सुरक्षा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सरकारी निर्णयलाई अटेर गर्नेहरूलाई पक्राउ गरीएको र आजै उनीहरूलाई थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइने चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले देखापढीलाई बताए।

उता इलाका प्रहरी कार्यालय टीकापुरले पनि लकडाउन उल्लंघन गर्ने २९ जनालाई विभिन्न स्थानबाट मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।

बजार क्षेत्रबाट नियन्त्रणमा लिइएका उनीहरूलाई सम्झाइबुझाई गरी छाडिने र मोटरसाइकल भने नियन्त्रणमै राख्ने प्रहरीको तयारी रहेको डीएसपी मनोहर भट्टले जानकारी दिए ।

संक्रामक रोग ऐन-२०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको लकडाउनको आदेश आज बिहान ६ बजेदेखि १८ चैत बिहान ६ बजेसम्मका लागि लागू हुनेछ।

लकडाउनको अवधिभर औषधि उपचार र खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक अन्य कुनै पनि काममा घरबाहिर निस्कन पाइने छैन।

संकटको यो घडीमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन, भीडभाडमा नजान र सावधानी अपनाउन सरकारले सबैमा आग्रह गरेको छ।

संघीय राजधानी काठमाडौं एवं अन्य शहरहरूमा बिहानैदेखि प्रहरीले सर्वसाधारणलाई भित्रै बस्न , घर बाहिर ननिस्कन माईकिङ गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्