हुम्लामा न कोरोनाको डर, न लकडाउनको प्रभाव

हुम्ला। कोभिड-१९ महामारीको त्रासले अहिले विश्‍वलाई नै आक्रान्त बनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन आजदेखि नेपालमा पिन देशैभर लकडाउन गरिएको छ।

बजारहरू सुनसान छन्। सवारीसाधन चलेका छैनन्। अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन सरकारले सबैमा अनुरोध गरेको छ।

तर शहरहरू सुनसान र ठप्प प्राय: भएपनि दुर्गम तथा ग्रामीण भेगहरूलाई यसले खासै प्रभाव पारेको छैन।

'लकडाउन' नेपालको असर हुम्लामा त्यति देखिएको छैन। हुम्लाको तल्लो क्षेत्रका वासिन्दा आफ्नै दैनिक घरायसी र खेतीपातीको काममा व्यस्त छन्।

स्थानीय कृषक गाई, बाख्रा चराउने खेतबारीमा काम गर्नेदेखि स्थानीय तहबाट सार्वजनिक कार्यक्रम पनि भइरहेको छ।

सरकारको निर्णयले यहाँका विद्यालय बन्द गरिएका भएपनि अन्य कार्यालयहरू भने निर्वाध रूपमा संचालन भइरहेको छ।

स्नोल्यान्ड एकिकृत विकास केन्द्रले सञ्चालन गरेका कुक तालिम, हातेहोजारी तालिम पनि निरन्तर रूपमा चलिरहेको छ ।

नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोरको सडक निर्माणको कामसमेत यसअघि झैँ नियमित रूपमा संचालन भइरहेको छ।

यहाँ खटिएका कामदार आज बिहानैदेखि निर्वाध रूपमा काममा व्यस्त छन्।

अदानचसली गाउँपालिकाको दोमुखमा काम गर्दै आएका एक कामदारले भने, "हामीलाई सरकारले के गरेको छ भन्ने केही थहा छैन। ठेकदारले काम गर भनेपनि काम गर्नैपर्‍यो।"

जिल्ला प्रशासन कार्यालय हुम्लाले कर्णाली कोरिडोरको काम रोक्न र स्थानीय तहबाट भइरहेका सार्वजनिक कार्यक्रम रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।

हुम्लाका सीडी‌ओ विनिता भट्टराईले भनिन्, "सबै काम रोक्ने कुरा भएको थियो। त्यसो भए म तत्काल सम्बन्धित निकायलाई खबर गरेर काम रोक्न भनिहाल्छु।"

प्रतिक्रिया दिनुहोस्