आजदेखि डाक्टर र नर्सको दैनिकीः सात दिन अस्पतालमा, १४ दिन क्वारेन्टाइनमा
काठमाडौं। विश्व्यापी महामारी बनेको कोभिड-१९ बाट जोगिन सरकारले आजदेखि कम्तीमा एकसाताका लागि देशभर घरबाट बाहिर निस्कन नमिल्ने बन्दाबन्दी (लकडाउन) आदेश लागू गरेको छ। सरकारको यो आदेश लागू भएसँगै देशभरकै सडक सुनसान बनेका छन्।

१० चैतमा मात्र फ्रान्सबाट कतार हुँदै फर्केकी एक नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। र, यो पुष्टिसँगै सरकारलगायत प्रत्येक नागरिक कोरोना भाइरसबाट जोगिन आवश्यक सबै सजगता अपनाइरहेका छन्।

आजदेखि नै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्थापित कोरोना संक्रमितका लागि उपचार गरिने आइसोलेटेड भवनमा महामारीमा अवलम्बन गरिने विधि लागू गरिएको छ।

अस्पताल परिसरमा रहेको तीन तलाको गणेशमान भवनलाई सम्भावित कोरोना संक्रमितको उपचारका लागि आइसोलेटेड गरिएको थियो।

कोरोना भाइरस संक्रमणको आशंका गरिएका विरामीलाई मात्र त्यहाँ राख्नेगरी त्यहाँ चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली खटाइएको छ। त्यो टोलीले भने अब अहिलेसम्मको अभ्यासभन्दा फरक विधि अवलम्बन गरेर काम गर्नेछ।

"हामी सबै बसेर यो विधि निर्माण गरेका हौं, आजदेखि लागू भएको छ", त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी प्राध्यापक डा। दिव्या सिंह शाहले भनिन्, "एउटा टोलीले लगातार एक हप्ता ड्युटी गर्छ, अनि अर्को हप्ता अर्को टोलीले।"

एक हप्ता ड्युटी गर्ने टोली त्यसपछि १४ दिनको क्वारेन्टाइनमा बस्छ।

यो भवनको तल्लो तलामा १५ वटा बेड छन्, जहाँ आशंकित कोरोना संक्रमितलाई राखिन्छ। त्योभन्दा माथिल्लो तलामा उनीहरुलाई आइसोलेट गर्नुपर्यो भने राखिन्छ। सबैभन्दा माथिल्लो तलामा चाहिँ आइसीयु कक्ष छ।

अब सम्भावित कोरोना संक्रमित विरामीलाई उपचार गर्ने स्वास्थ्यकर्मीको टोलीलाई नै यसैगरी क्वारेन्टाइनमा राख्नेगरी काम गराउने योजना स्वास्थ्य मन्त्रालयले लागू गरिसकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देखापढीलाई बताए।

"एक हप्ता काम गर्ने र दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले हामीलाई जनशक्ति अझ धेरै आवश्यक भएको छ", मन्त्री ढकालले भने, "अहिलेसम्म एकजना पोजेटिभ बिरामी देखिएकाले टेकु अस्पतालमा हामीले यो योजना लागू गरिसक्यौं, अरु ठाउँमा पनि पोजेटिभ विरामी देखिए अरु ठाउँमा पनि लागू गर्छौं।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्