प्रधानमन्त्री निवास 'आइसोलेसन'मा, भित्र पस्न र बाहिर निस्कन बन्देज लगाइयो

काठमाडौं। कोभिड-१९ महामारीको उच्च जोखिमलाई ध्यानमा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारस्थित सरकारी निवासलाई आइसोलेसनमा राखिएको छ।

कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन देश नै लकडाउन गरिएका बेला प्रधानमन्त्रीको निवासलाई आइसोलेसनमा राखिएको हो।

बालुवाटार स्रोतका अनुसार आजदेखि बाहिरका कोही पनि व्यक्तिलाई प्रधानमन्त्री निवासमा पस्न र भित्र रहेकाहरुलाई बाहिर निस्कन बन्देज लगाइएको छ। प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो मापदण्ड कडाईपूर्वक लागू गरिएको बालुवाटार स्रोतले बतायो।

प्रधानमन्त्री ओलीको गत २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रोपटक मिर्गौला पत्यारोपण गरेका प्रधानमन्त्रीलाई संक्रमणको उच्च जोखिम रहने हुँदा यसअघि नै चिकित्सकहरुले भेटघाटलगायतमा कडाई गरेका थिए।

कोभिड-१९ को महामारीबाट नेपाल पनि उच्च जोखिममा परेपछि प्रधानमन्त्रीका लागि उच्चतम सुरक्षाको विधि अवलम्बन गरिएको हो। "अब बाहिर अरुसँग भेटघाट हुने मान्छे बालुवाटार भित्र पस्न पाउँदैन, बालुवाटारमा बस्ने मान्छे बाहिर निस्कन पाउँदैन", स्रोतले भन्यो, "यसको अर्थ क्याबिनेट मन्त्रीदेखि प्रधानमन्त्रीका सल्लाहकारसमेतले उहाँलाई भेट्न पाउनुहुन्न।"

कडाई कतिसम्म गरिएको छ भने प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा दिव्या सिंह शाहलेसमेत प्रधानमन्त्रीलाई भेटेकी छैनन्।

"म अस्पताल जाने र विरामी हेर्ने गरिरहेकाले दुई तीन दिनयता बालुवाटार गएको छैन, अहिले फोनबाट नै उहाँसँग कन्सल्ट गर्छु", डा. शाहले देखापढीसँग भनिन्, "पहिलेजस्तो उहाँलाई रेगुलर चेकअप गर्नु पर्दैन, रेगुलर मेडिसिन मात्र लिने हो। म जाने फिजिकल चेकअपका लागि हो।"

डा. शाहले आफूले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेरेका दुईजना विरामीको कोरोना भाइरस परीक्षणका लागि नमूना पठाइएको र त्यसको नतिजा नआउन्जेल आफू घरमै बसेको बताईन्।

प्रतिक्रिया दिनुहोस्