कोभिड-१९ को आशंकामा टेकु र पाटन अस्पतालमा २१ जनाको उपचार हुँदै

काठमाडौं। कोरोना भाइरस संक्रमण देखिएकी एक महिला अहिले टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत् छिन्।

उनीबाहेक कोभिड-१९ को आशंका गरिएका १५ जनालाई अस्पताल भर्ना गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

"त्यसमध्ये १० जना चिकित्सकको प्रत्यक्ष निगरानी पाँचजना आइसोलेसनमा रहेका छन्", देवकोटाले भने।

पाटन अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत् छन्।

उनीहरूको रिपोर्ट आउन बाँकी छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६१० जनाको नमूना परीक्षण गरिएकोमा ६०८ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

कोरोना भाइरस संक्रमण देखिएका चीनको वुहानबाट फर्किएका एक व्यक्ति निको भएर घर फर्किसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया महिला विद्यार्थीमा कोभिड-१९ पुष्टि भएपछि टेकु अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

उनको परिवारका सदस्य सबैलाई क्‍वारेन्टाइनमा राखिएको मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।

सँगै जहाजमा आएकाहरूको खोज पड्ताल गरी स्वास्थ्य परीक्षण र सेल्फ क्वारेन्टाइनमा राख्न संयन्त्रहरू परिचालन गरिएको छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीर अस्पतलामा चाँडै नै नमूना परीक्षणको व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परीक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मी, दिर्घरोगीहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमूना संकलन गरी परिक्षण शुरू गरेको छ।

कोभिड-१९ सँग लड्न टाढैबाट यसलाई फर्काउन भीडभाडमा नजाने, सावधानी अपनाउनेजस्ता कार्यलाई गम्भीरताका साथ पालना गर्न सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बाँस्तोलाले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्