स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा पठायाे कोभिड-१९ रोकथामका आवश्यक सामग्री

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिए।

तीमध्ये मास्क दुई लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ छन्। उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ।

अहिले कोभिड-१९ को उपचारमा संलग्न चिकित्सकले पीपीई लगाउनुपर्ने हुन्छ। यसैगरी ४८३ गाउन, मुखमा लगाउने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन-९५ मास्क ६०१, चस्मा ४७१, आईआर थर्मोमिटर ५८, पीपीई ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ।

त्यस्तै खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाई मौज्दातसमेत गरिएको छ। तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री ६ हजार ९६७ रहेका छन्। जसअनुसार पीपीई ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन-९५ मास्क २४, चस्मा ४८०, आईआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ। मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने डा. कार्कीकाे भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्