चीनमा कोरोना संक्रमण नियन्त्रणतिर, शुरूमा कोभिड-१९ देखिएको हुबेईमा रेल सेवा शुरू

काठमाडौं। सन् २०१९ को अन्तिम दिन ३१ डिसेम्बरमा चीनको हुबेई प्रान्तमा पहिलोपटक कोभिड-१९ का बिरामी फेला परेका थिए। त्यसयताको झण्डै तीन महीनामा कोभिड-१९ विश्वव्यापी महामारी बनिसकेको छ। आजसम्ममा चार लाख २५ हजार जना व्यक्ति संक्रमित भएका छन्। १८ हजार ९४४ जनाको मृत्यु भइसकेको छ।

पहिलोपटक देखिएको हुबेई प्रान्तको वुहान शहर लकडाउन गरेर नियन्त्रणको प्रयास थालेको चीनले धेरै हदसम्म सफलता पाएको छ। पछिल्लो एक सातामा हुबेईमा कोभिड-१९ का नयाँ बिरामी नभेटिएको र पुरानी बिरामीको पनि मृत्युदर निकै कम भएको रिपोर्टहरू आइरहेका थिए।

यी तथ्याङ्कले कोभिड-१९ रोकथाम र नियन्त्रणमा चीनले पाएको सफलता देखाउँछन्। यसैबीच आजैदेखि चीनले कोभिड-१९ बाट अत्याधिक प्रभावति हुबेई प्रान्तमा रेल सेवा सञ्चालनमा ल्याएको छ।

चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएअनुसार मध्य चीनको हुबेई प्रान्तले रेल वे सेवा शुरू गर्ने घोषणा गरेको छ। वुहान शहरबाहेक हुबेई प्रान्तभरका लागि आजबाट यात्रुबहाक रेल सेवा शुरू गरिएको छ।

२८ मार्चमा यात्रु बोकेका रेल वुहान पुग्नेछन्। ८ अप्रिलमा मात्रै वुहानबाट रेल अन्यत्रका लागि छुट्नेछन्। रेल सेवा सुचारू गर्ने हुबेई प्रान्तको घोषणाले चीनमा कोभिड-१९ नियन्त्रण हुँदै गएको देखिन्छ।

तर, युरोप र अमेरिका यसबाट नराम्ररी प्रभावित भइरहेका छन्। दक्षिण एशियामा पनि यसको प्रभाव तीव्र देखिँदै छ। हिँजोदेखि लागू हुने गरी नेपालभर एक साताका लागि लकडाउनको आदेश जारी गरिएको छ। भारत र बेलायतले पनि तीन साताका लागि लकडाउन गरिसकेका छन्।

आज एक जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा पनि कोभिड(१९ बाट संक्रमितको संख्या तीन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्