कतार एअरलाइन्सबाट आएका पाँचथरका दुई जनालाई पनि क्वारेन्टाइनमा पठाइयो
<p>काठमाडौं । ४ चैतमा कतार एअरवेजको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आएका पाँचथरका दुई युवालाई क्‍वारेन्टाइनमा पठाइएको छ। </p>
<p>प्रदेश-१ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडाका दीपेन्द्रराज आङ्देम्बे र फिदिम-६ सिवाका विन्दुप्रसाद आङ्देम्बेलाई सुरक्षित क्‍वारेन्टाइनमा राख्‍न मोरङको टाँडी पठाइएको हो। सोही फ्लाइटमार्फत फ्रान्सबाट काठमाडौं आएकी युवतीमा कोभिड-१९ पोजिटिभ देखिएको थियो । उक्त फ्लाइटबाट एक सय ५८ जना काठमाडौं आएका थिए ।</p>
<p>दुवै युवाका परिवारलाई भने तत्काल घरमै क्‍वारेन्टाइनमा राखिएको मन्त्री आङ्बोले जनाएका छन्।</p>
<p>प्रदेश-१ सरकारले नेपाली सेनासँगको सहकार्यमा टाँडी, झापाको कलबलगुडी र सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष परिसरमा क्‍वारेन्टाइनको व्यवस्था मिलाएको मन्त्री आङ्बोले जानकारी दिए। उनका अनुसार तीन ठाउँमा गरी एकसाथ साढे चार सयलाई क्‍वारेन्टाइनमा राख्‍न सकिन्छ। प्रदेश सरकारले विराटनगरमा ५० शय्‍याको आइसोलेसन वार्ड पनि सञ्‍चालनमा ल्याएको छ।</p>
प्रतिक्रिया दिनुहोस्