प्रदेश १ का मुख्यमन्त्रीको आग्रह- 'कोभिड-१९ विरुद्ध एकजुट भएर लडौं'

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमविरुद्धको लँडाईमा एक-अर्कालाई सहयोग गर्न प्रदेशवासीलाई आग्रह गरेका छन्।

भिडिओ सन्देशमार्फत मुख्यमन्त्री राईले विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जुध्‍न प्रदेश सरकारले २३ बुँदे कार्ययोजनाका साथ काम गरिरहेको बताए।

"तपाईँको स्वास्थ्य र उपचारको ग्यारेण्टी हामी लिन्छौं", राईले भने, "कृपया यहाँहरूले पनि लकडाउन र सरकारले अनुरोध गरेका सावधानिका उपायहरूलाई गम्भीरताका साथ पालना गरिदिनुहोला।"

मुख्यमन्त्री राईले कोभिड-१९ सँगको प्रतिकार्य र तयारीका लागि प्रदेश सरकारका संयन्त्रहरू २४ सै घण्टा अलर्ट रहेको बताएका छन्।

उनका अनुसार प्रदेशमा अहिले ४४ ठाउँमा ९८९ बेडसहितको क्वारेन्टाइन निर्माण गरिएको छ।

कोरोना भाइरस संक्रमणको आशंकामा प्रदेश १ बाट १९ जनाको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री राईले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्