सी-मोदी भेटमा उठेन कश्मिर मुद्दा, जनस्तरको सम्बन्धमा जोड

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक भेटपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि चेन्नइबाट उडिसकेका छन्।

२४ असोज शुक्रबार भारतको चेन्नइ पुगेका सीलाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका थिए।

तामिलनाडुको स्थानीय पोशाकमा सजिएका मोदीले सीलाई त्यहाँका धार्मिक र सांस्कृतिक स्थानहरू घुमाउन पनि लगेका थिए। शुक्रबार साँझ नै मोदी र सी बीच ‘वन अन वन’ वार्ता भएको थियो।

दुईजना दोभाषेको सहयोगमा भएको त्यो वार्ता साढे दुई घण्टा चलेको थियो।

"दुई नेताबीचको वार्ता निकै खुला र हार्दिक थियो", शुक्रबार साँझ भारतीय विदेश सचिव विजय गोख्लेले पत्रकार सम्मेलनमा जनाएका थिए।

‘ताज फिसरम्यान्स कोभ रिसोर्ट’को मचानमा पुनः सी र मोदीबीच पाँच घण्टाभन्दा बढी ‘वन-अन-वन’ बैठक भएको थियो।

"बुहान वार्ताले हामीलाई नयाँ गति र विश्वास दिएको थियो। आज ‘चेन्नई कनेक्ट’ मार्फत् सहकार्यको नयाँ युग शुरू भएको छ", वन-अन-वन वार्तापछि भएको प्रतिनिधी मण्डल तहको वार्तामा प्रधानमन्त्री मोदीले भने।

सीले चेन्नई छोडेलगत्तै भारतीय विदेश सचिव गोख्लेले सी र मोदीबीच कश्मिर मुद्दाबारे कुनै पनि चर्चा नभएको जनाएका छन्। उनले आतंकवादका कारण विश्वमै सिर्जित खतराबारे भने चर्चा भएको उल्लेख गरेका छन्।

‘कश्मिरबारे हाम्रो अडान स्पष्ट छ, यो भारतको आन्तरिक मामिला हो’, गोख्लेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

गोख्लेका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री मोदी दुवैले जनस्तरको सम्बन्धमा जोड दिए।

"दुवै देशका जनताबीच सम्बन्ध विस्तार गर्ने निर्णय भएको छ", गोख्लेले जनाएका छन्।

सी-मोदी वार्ताबारे पत्रकार सम्मेलनमा गोख्लेले भने- "व्यापार विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ।"

प्रतिक्रिया दिनुहोस्