कोरोना भाइरस संक्रमणको आशंकामा थप ७१ जनाको नमूना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा थप ७१ जनाको नमूना परीक्षण गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परीक्षण गरिएका नयाँ ७१ वटै नमूनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हिजो, १३ चैतमा सार्वजनिक गरेको विववरण अनुसार अहिलेसम्म कूल ७५८ जनामा कोभिड-१९ को नमूना परीक्षण गरिएको छ।

त्यसमध्ये ७५५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

यसअघि १२ चैतमा ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको थियो।

शुरूमा कोरोना भाइरस संक्रमण देखिएका चीनको वुहानबाट फर्किएका एक विद्यार्थी हाल निको भइसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी १९ वर्षीया विद्यार्थी र ६ चैतमा एयर अरेवियाको जहाजमार्फत् यूएईको सारजाहबाट आएका धादिङका ३२ वर्षीय पुरुषलाई कोभिड-१९ देखिएपछि उनीहरू दुवैजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

उनीहरू सँगै जहाजमा आएका यात्रु तथा तीनका परिवारको पहिचान गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्ने काम शुरू गरिसकिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले यसअघि पत्रकार सम्मेलनमा बताइसकेका छन्।

हाल काठमाडौंस्थित एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ल्यावमा कोरोना भाइरसको नमूना परीक्षण हुँदै आएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले वीर अस्पताल, धुलिखेल अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेशस्तरमा परीक्षण गर्ने व्यवस्था नहुन्जेल छिटो सवारीको साधनको माध्यमबाट केन्द्रीय प्रयोगशाला टेकुमा स्वाब परीक्षण गराउने व्यवस्था मिलाउने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्