कोरोना संक्रमितको उपचारका लागि देशभर ६१३ आइसोलेसन बेड तयार

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)का संक्रमितको उपचारका लागि देशभर ६१३ वटा आइसोलेसन बेड तयार भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार साँझसम्मको तथ्यांकअनुसार देशभरका ८० वटा स्वास्थ्य संस्थामा ती आइसोलेसन बेड तयार भएका हुन्। आइसोलेसन बेड थपिने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश-१ मा ६७, २ मा ९८, बाग्मतीमा १७९, गण्डकीमा ११३, प्रदेश-५ मा ८९, कर्णालीमा २० र सुदूरपश्चिममा ४७ वटा आइसोलेसन बेड तयार भएका छन्।

स्वास्थ्य मन्त्रालयको बिहीबार साँझसम्मको विवरणअनुसार १७ जना आइसोलेसन बेडमा उपचाररत छन्। तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४, पाटन अस्पतालमा ४ र कान्ति बाल अस्पतालमा ९ जना छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ११ जनालाई निगरानीमा राखिएको छ।

नेपालमा बिहीबारसम्मको तथ्यांकअनुसार ७५८ बिरामीको नमुना परीक्षण गरिएको छ। तीमध्ये ३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको थियो। चीनबाट फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पोजेटिभ थियो। उनी उपचारपछि निको भएर फर्किसकेका छन्।

४ चैतमा फ्रान्सबाट कतार एयरवेजको विमानमा स्वदेश फर्किएकी १९ वर्षीया एक छात्रा र यूएईबाट आएका संक्रमित पुरुषको अहिले टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

रुघाखोकी, ज्वरोलगायत लक्षण देखा परे पनि अहिले कोरोना संक्रमणकै शंकामा नमुना परीक्षण गराउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ। सरकारले देशभरका ८० स्वास्थ्य संस्थामा आइसोलेसन बेड तयार गरे पनि कोरोना परीक्षणको नमुनामा प्रयोगशाला नहुँदा देशभरको नमुना टेकुमा आउने गरेको छ।

प्रतिक्रिया दिनुहोस्