कान्तिपुर र हिमाल मिडियाका छापा संस्करण स्थगित, झापा र दाङका पत्रिका पनि केही दिनलाई बन्द

काठमाडौं। कोभिड–१९ को सन्त्रासले देशभर बन्दाबन्दीको अवस्था सिजर्ना भएपछि केही मिडियाले आफ्ना छापा संस्करण स्थगित गर्न थालेका छन्।

कान्तिपुर मिडिया ग्रुपको सबै छापा संस्करणको प्रकाशन आजबाट स्थगित भएको छ। कान्तिपुर दैनिकले विशेष प्रकाशकीयमार्फत कान्तिपुर, दी काठमाडौ पोष्ट, नेपाल, साप्ताहिक, नारी लगायतको प्रकाशन स्थगित गरेको बताएको छ। यी सबैको अनलाइन संस्करण भने जारी रहने तथा कान्तिपुर टेलिभिजन र कान्तिपुर रेडियो भने यथावत प्रसारणमा रहने विशेष प्रकाशकीयमा उल्लेख छ।

“मुलुकभित्र कुनै पनि माध्यम वा बस्तुबाट भाइरस प्रवाह हुन नपाओस भन्ने सरकारको आह्वान र प्रयत्नलाई जनताका घरघरमा अखबार पुर्याइरहेका हामीले पनि जिम्मेवारपूर्वक मनन गर्नुपर्ने असामान्य अवस्था आएको छ”, कान्तिपुरको विशेष प्रकाशकीयमा भनिएको छ, “जसअनुरुप कान्तिपुर, दी काठमाडौ पोष्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगित हुनेछन्।”

पत्रपत्रिका बाँड्दै हिँड्ने वितरक वाहक, पत्रकार र फोटो पत्रकार फिल्डमा खटिँदा कोरोना भाइरस संक्रमणको जोखिम भएको हुँदा उनीहरूको सुरक्षालाई ध्यान दिएर छापा माध्यमको प्रकाशन स्थगित गरिएको कान्तिपुर मिडियो ग्रुपले बताएको छ।

त्यसैगरी, हिमाल मिडिया प्रालिले पनि छापा माध्यमको प्रकाशन स्थगित गरेर अनलाइन संस्करण मात्रै प्रकाशन गर्न थालेको छ। हिमाल मिडियाले प्रकाशन गर्दै आएको हिमाल साप्ताहिक र अंग्रेजी भाषाको नेपाली टाइम्सको प्रकाशन स्थगित गरिएको हिमाल मिडियाले बताएको छ।

“महामारीविरुद्ध एक भइ जुट्न र सम्पूर्ण हिमालकर्मीको स्वास्थ्यप्रति सचेत हुँदै हिमाल मिडिया प्रालिले साप्ताहिक हिमाल खबरपत्रिकाको ९ चैतको अंकपछि आफ्नो छापा संस्करणलाई अवस्था सामान्य नहुन्जेलसम्मको लागि स्थगन गर्ने निर्णय गरेका छौं”, हिमाल खबर पत्रिकाले विशेष प्रकाशकीयमा उल्लेख गरेको थियो।

झापा जिल्लाबाट प्रकाशन हुने सबै पत्रिका ११ चैतबाट अवस्था सामान्य नहुन्जेलसम्मको लागि प्रकाशन स्थगित भएका छन्। झापाका प्रकाशक, सम्पादकहरुले अहसज परिस्थितिमा पत्रिका प्रकाशन गर्न सम्भव नभएकाले अहिलेका लागि बन्द गर्नु परेको भन्दै विज्ञप्ति प्रकाशन गरेका थिए। झापामा ९ वटा दैनिक पत्रिका प्रकाशन हुँदै आएका थिए भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका थिए। यस्तै दाङबाट प्रकाशन हुँदै आएका पत्रिका पनि अहिलेका लागि बन्द गरिएको छ।

पत्रिकाबाट पनि कोभिड-१९ सर्न सक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिका बन्द गरिएको ती पत्रिकाका सम्पादक(प्रकाशकले बताएका छन्। दाङमा अहिले सात दैनिक पत्रिका र एक दर्जन जति साप्ताहिक पत्रिका प्रकाशित हुँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्