चिकित्सक संघले भन्यो- ‘आधारभूत सुरक्षा सामग्री उपलब्ध गराऊ’

काठमाडौं। नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेबमोजिम अनिवार्यरूपमा उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

आज एक विज्ञप्ति जारी गर्दै संघले कोभिड–१९ का बिरामीहरू नेपालमा फेला परिरहेको अवस्थामा उपचारमा संलग्न चिकित्सकहरूलाई समेत जोखिम हुने हुनाले आधारभूत सुरक्षा सामग्री उपलब्ध गराउन संघले माग गरेको हो।

जोखिम मोल्दै उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्नसमेत संघले माग गरेको छ।

संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वयकारी भूमिका निर्वाह गर्दै कोरोना भाइरससम्बन्धी अभियानलाई प्रभावकारी बनाउन सरकारले ठोस कदम चाल्नुपर्ने चिकित्सक संघको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी एम्बुलेन्स सेवाको सहज उपलब्धतालगता क्वारेन्टाइनको उचित व्यवस्थापनसहित आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्नु÷गराउनु आवश्यक छ।’

चिकित्सक संघले स्वास्थ्य संस्थालाई आवश्यक सामग्रीहरूको उपलब्धता, सेवाका सम्बन्धमा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पार्न केन्द्रीय कार्यालयले अनुगमन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्