भारतमा अलपत्र १४ नेपाली तीर्थयात्रीको उद्धार

झापा। भारतको चेन्‍नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको आज उद्धार गरिएको छ।

कोभिड-१९ को स‌ंक्रमणकाे जाेखिमका कारण भारतको चेन्‍नईस्थित नोलाम्बोमा अलपत्र उनीहरूको उद्धार गरिएको हो।

ग्रेटर चेन्‍नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्‍नईका संस्थापक ई ए विश्वोनथन, डा‍. नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरूको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिए।

“भारतमा रहने मेरा मित्रहरूको सहयोगमा उहाँहरूको उद्धार गरेका छौँ”, उनले भने, “अहिले उहाँहरूको स्वास्थ्य परीक्षणपछि चेन्‍नई सरकारले सुरक्षित स्थानमा खान र बस्‍ने व्यवस्था गरिदिएको छ।” नेपाल र भारत दुवै देशमा लकडाउन गरिएकाले खुलेपछि उनीहरूलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताए।

उद्धार गरिएकामध्ये झापाका आठ तथा मोरङ र पाँचथरका तीन/तीनजना छन् । उनीहरूमा कनकाई-१ का ६३ वर्षीय दीनानाथ अधिकारी, ६१ वर्षीया उमादेवी अधिकारी, ३० वर्षीय राजन अधिकारी, ७१ वर्षीय पर्वलाल अधिकारी, ६५ वर्षीया पुण्यप्रभा अधिकारी र ६६ वर्षीया डम्बरकुमारी लुइँटेल रहेको अध्यक्ष कट्टेलले जानकारी दिए।

त्यस्तै झापा मेचीनगर-१० का ६५ वर्षीय मोहनीविशाल लुइँटेल र ५९ वर्षीया गङ्गादेवी लुइँटेल छन्। यस्तै मोरङ रतुवामाई-६ का ७९ वर्षीय नेत्रप्रसाद पोखरेल, ६४ वर्षीया देवीमाया पोखरेल र ३८ वर्षीय गोविन्द पोखरेल छन्।

यस्तै पाँचथरका ७३ वर्षीय मुक्तिनाथ खतिवडा, ४० वर्षीय भेषराज खतिवडा र ७६ वर्षीया सावित्रादेवी रिजालको उद्धार गरिएको अध्यक्ष कट्टेलले बताए। उनीहरू गत २१ फागुनमा तीर्थयात्राका लागि भारत गएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्