अमेरिकामा अत्यास लाग्दो गरी फैलँदै कोरोना भाइरसको संक्रमण, दुई ट्रिलियन डलरको राहत प्याकेज घोषणा

अमेरिकामा कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलँदै गएको छ। पछिल्लो २४ घण्टाको अपडेट विवरण अनुसार त्यहाँ १८ हजार ६ सय ९१ जना कोरोना संक्रमित नयाँ विरामी भेटिएका छन्।

योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख चार हजार ४२ पुगेको छ। संक्रमित मध्ये एक हजार ६९६ जनाको मृत्यु भइसकेको छ।

अमेरिकामा सबैभन्दा धेरै न्यूयोर्क कोरोना भाइरसको चपेटामा परेको छ। कोरोनाको संक्रमण रोकिने छाँट नदेखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सक्रिय भएको बताइएको छ। यसअघि उनले कोरोना भाइरस संक्रमणलाई हल्कारूपमा लिएको टिप्पणी हुँदै आएको छ।

ट्रम्पले कार निर्माता कम्पनीहरूलाई यथासक्य चाँडो भेन्टिलेटर बनाउन भनेका छन्। उनले कोरोना भाइरसका कारण विग्रिएको अर्थव्यवस्थामा सुधार ल्याउन २ ट्रिलियन डलरको राहत प्याकेज घोषणा पनि गरेका छन्।

वर्ल्डमिटर डटकमको पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या पाँच लाख ९७ हजार पुगिसकेको छ भने सत्ताइस हजार ३५५ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्